लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

मेचीकाली संवाददाता

१२ चैत्र २०७९, आईतवार
210 shares

बुटवल । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। सत्ता गठबन्धनमा फेरबदल भएपछि माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए।

सत्ता गठबन्धनमा फेरबदल भएपछि लुम्बिनीमा बन्ने नयाँ सरकारमा माओवादी केन्द्रको नेतृत्वमा हुनुपर्ने पार्टीको दाबी छ। माओवादी केन्द्रको समर्थन फिर्तासँगै मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ।

आइतबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री गिरीसमक्ष राजीनामा बुझाएको लुम्बिनी प्रदेश अध्यक्ष बरालले बताए ।
आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भौतिक पूर्वाधार विकास मन्त्री ईन्द्रजीत थारु र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री कृष्णा केसीले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

माओवादी केन्द्र बाहिरिएसँगै एमालेबाट निर्वाचित मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री गिरीले राजीनामा दिने कि ३० दिनभित्र विश्वासको मत लिने दुई विकल्प रहनेछन् । गिरी गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए ।
८७ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ ।

मुख्यमन्त्री गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ गरि प्रदेशसभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदले समर्थन गरेका थिए । भने कांग्रेसका २७, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सांसदले भने समथर्न गरेका थिएनन् ।