दुई दिने समविकास तालिम सुरु

मेचीकाली संवाददाता

१२ चैत्र २०७९, आईतवार
232 shares

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा २ दिने समविकास तालिम सुरु भएको छ । सिद्धिपुर सामाजिक महिला विकास संस्थाको आयोजना र विजयनगर गाउँपालिकाको सहयोगमा समविकास तालिम शुरु गरिएको हो । लैँगिक हिंसा न्यूनीकरण गर्नका लागि महिला पुरुष समविकास तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

तालिममा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले पति पत्नीले एक अर्काको कुरा बुझ्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले आपसी भेदभाव न्यूनीकरण गर्न महिला पुरुषले समान दृष्टिकोणले हेर्नुपर्ने बताउँदै सँस्कार, सस्कृति, धर्म दम्पत्तिका फरक बुझाइका कारण हिंसा हुने गरेको समेत अध्यक्ष थापाले बताउनु भयो ।

बिबाह एउटा पवित्र बन्धन, सामाजिक संस्कार र प्राकृतिक नियम भएको बताउँदै जोडीलाई सफल बनाउन यस समविकास तालिमले महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो । उहाँले आशंकाका कारण सम्बन्ध विच्छेद, आत्महत्या, हिंसालाई न्यूनीकरणमा यस तालिमले टेवा पुग्ने बताउनुभयो ।

उहाँले एकआपसको समझदारीले अनुशासित, सभ्य समाज निर्माण र सभ्य परिवार निर्माण हुने कुरामा विश्वास व्यक्त गर्नुभयो । तालिममा सहभागीहरुलाई तालिम पश्चात आफ्नो घर, टोल र गाउँहरुमा अभियानकै रुपमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष थापाले आफ्नो कमीकमजोरीलाई सुधार गर्दै दम्पती जीवनलाई लैंगिक हिंसारहित सुखमय बनाउन समेत आग्रह गर्नुभयो ।

यस्तै सिद्धिपुर सामाजिक महिला विकास संस्थाका अध्यक्ष सीता न्यौपानेले विश्वमै महिला हिंसा बढी भएको बताउँदै यस विषयमा सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले लैँगिक हिंसा न्यूनीकरणका लागि महिला सशक्तिकरण आवश्यक रहेको बताउँदै दाम्पत्तीय जीवनलाई सफल बनाउन एकअर्काको बीचमा समझदारी हुनुपर्ने बताउनु भयो । साथै उहाँले पछिल्लो समयमा महिला मात्र नभएर पुरुषहरु पनि हिंसामा पर्दै आएको हुँदा यस समबिकास तालिमले लैगिंक हिंसा न्यूनिकरणमा सहयोग गराउने बिश्वास व्यक्त गर्नुभयो ।

दुई दिनसम्म सञ्चालन हुने समविकास तालिममा सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष पोम नारायण पौडेलले समविकास तथा लैंगिक समानताको बिषयमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, वडा सदस्यहरु , महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख यमकला रेस्मी लगायतको उपस्थिति रहेको थियो । सिद्धिपुर सामाजिक महिला विकास संस्थाका अध्यक्ष सीता न्यौपानेको अध्यक्षतामा कोषाध्यक्ष लक्ष्मी गोदारको स्वागत मन्तव्य तथा संस्थाका सहसचिव खुमा कुवरको संचालन रहेको थियो ।