लैंगिक हिंसा न्यूनिकरणका लागि महिला पुरुष समविकास तालिम सम्पन्न

मेचीकाली संवाददाता

१३ चैत्र २०७९, सोमबार
238 shares

पार्वती आचार्य

कपिलवस्तु । विजयनगर गाउँपालिकामा लैँगिक हिंसा न्यूनीकरण गर्नका लागि महिला पुरुष समविकास सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । सिद्धिपुर सामाजिक महिला विकास संस्थाको आयोजना तथा विजयनगर गाउँपालिकाको सहयोगमा चैत १२ र १३ गते संचालन गरिएको समविकास तालिम बिजयनगर गाउँपालिकाको सभाहल खडैंचामा समापन गरिएको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथी बिजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले जोडी सहभागि पति पत्नीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा ल्याउन आग्रह गर्नु भयो । उहाँले पारिवारिक झगडाले बालबालिका र छिमेकीहरुलाई असर पर्नुका साथै घरमा लक्ष्मीको समेत बास नहुने बताउँदै पति पत्नी मिलेर एक अर्काको कुरा बुझ्न आग्रह गर्नु भयो ।

पति पत्नी एकरथका दुई पांग्रा भएको हुँदा उहाँले आपसी भेदभाव न्यूनीकरण गर्न महिला पुरुषले समान दृष्टिकोणले हेर्नुपर्ने बताउँदै सँस्कार, सस्कृति, धर्म दम्पत्तिका फरक बुझाइका कारण हिंसा हुने गरेको समेत उपाध्यक्ष चौधरीले बताउनु भयो । एकआपसको समझदारीले अनुशासित, सभ्य समाज निर्माण र सभ्य परिवार निर्माण हुने कुरामा विश्वास व्यक्त गर्नुभयो । तालिममा सहभागीहरुलाई तालिम पश्चात आफ्नो घर, टोल र गाउँहरुमा अभियानकै रुपमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै सिद्धिपुर सामाजिक महिला विकास संस्थाका अध्यक्ष सीता न्यौपानेले सहभागिहरुले दुई दिन सम्म सिकेका कुराहरुलाई व्यवहारमा ल्याउन सके लैगिंक हिंसा न्यूनिकरण हुने बताउनु भयो । लैँगिक हिंसा न्यूनीकरणका लागि महिला सशक्तिकरण आवश्यक रहेको बताउँदै दाम्पत्तीय जीवनलाई सफल बनाउन एकअर्काको बीचमा समझदारी हुन आवश्यक रहेको बताउनु भयो । साथै उहाँले पछिल्लो समयमा महिला मात्र नभएर पुरुषहरु पनि हिंसामा पर्दै आएको हुँदा यस समबिकास तालिमले लैगिंक हिंसा न्यूनिकरणमा सहयोग पु¥याउने बिश्वास व्यक्त गर्नुभयो ।

संचारिका समूहका अध्यक्ष पार्वती आचार्यले बिजयनगर गाउँपालिकाले हरेक वर्ष उदाहरणीय कार्यहरु संचालन गर्दै आएको बताउँदै पति पत्नीले दुई दिन सम्म सिकेका कुराहरुलाई व्यवहारमा ल्याउनु पर्नेमा जोडदिनु भयो ।

सहभागिहरु कल्सन धुनिया र हनिफ धुनियाले तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा ल्याउने बताउँदै पति र पत्नी अनुसासित रुपमा रहने प्रतिवद्धता जनाउनु भयो । यस्तै बसन्ती घिमिरे र हरि प्रसाद घिमिरेले महिला पुरुष सम बिकास तालिममा सहभागि हुन पाउँदा खुशी व्यक्त गर्नु भयो । यसैगरी अर्का जोडी सन्तोषी बढई र बम बहादुर बढईले तालिम उदाहरणीय लागेको बताउँदै आगामी दिनहरुमा पनि गाउँपालिकाले यस्ता कार्यक्रम तथा तालिमहरु संचालन गर्न आग्रह गर्नु भयो ।

समविकास तालिममा सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष पोम नारायण पौडेलले समविकास तथा लैंगिक समानताको बिषयमा सहजीकरण गर्दै लैंगिंक समानताका बाधक बिषयहरुको पहिचान तथा समाधानको उपायहरुको बारेमा सहजीकरण गर्नु भएको थियो ।

सिद्धिपुर सामाजिक महिला विकास संस्थाका अध्यक्ष सीता देवि न्यौपानेको अध्यक्षतामा कपिलवस्तु जिल्ला समन्वय समिति सदस्य शकुन्तला भण्डारी , विजयनगर गाँउ कार्यपालिका सदस्य मिना सुनार , महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख यमकला रेस्मी , वडा नं. १ का वडा सदस्य त्रिवेणी कोरी , वडा नं.२ का वडा सदस्य सोमई केवट , रेडियो बिजयनगर एफएमका समाचार प्रमुख घनश्याम भर , संस्थाका कोषाध्यक्ष लक्ष्मी गोदार लगाएतको सहभागिता रहेको थियो । उक्त कार्यक्रम संस्थाका सहसचिव खुमा कुवरको संचालनमा सम्पन्न भएको थियो । समापन कार्यक्रममा अतिथीहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो