आफ्नो व्यवहार र आचरण राम्रो बनाउनुहोस्ः अध्यक्ष ओली

मेचीकाली संवाददाता

१६ चैत्र २०७९, बिहीबार
698 shares

बुटवल । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्ताले भाषण भन्दा व्यवहार र आचरण असल बनाउन निर्देशन दिएका छन् । पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत बुधबार तिलोत्तमामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अहिले जनताले भाषण, विचार सुन्नभन्दा व्यवहार र आचरण हेर्ने भन्दै जनताको मन जित्ने गरी जनतामैत्री असल व्यवहार र आचरण देखाउन निर्देशन दिए ।

ओलीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु खराब भएपनि कार्यकर्ताहरु असल रहेकाले दुवै पार्टीका कार्यकर्ताहरुलाई पार्टीमा भित्र्याउनुपर्ने बताए । ‘माओवादी केन्द्र र नेकपा एस भन्ने पार्टीका नेताहरु कम्युनिष्टका नाममा कांग्रेसको पछि लागेर कम्युनिष्ट शक्तिलाई सिध्याउन लागेका छन्,’ओलीले भने,‘तर कार्यकर्ताहरु असल छन्, उनीहरुलाई नेतृत्वको भ्रमबाट मुक्त गरेर एमालेमा ल्याई विनाभेदभाव उचित जिम्मेवारी दिएर पार्टीलाई बलियो बनाउनुपर्छ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तत्कालीन राजा ज्ञानेन्द्रसँग मिलेर दलहरुलाई सिध्याउन लागि परेको तर ज्ञानेन्द्रले ‘कू’ गरेपछि बल्ल गणतन्त्रका कुरा गर्न थालेको टिप्पणी गरे । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिन अदालत धाउनेदेखि पार्टी विभाजनमा लागेको बताए ।

मिसन ग्रास रुटको मिसन अर्को चुनावसम्म वडा तहसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत पु¥याई एकल वहुमत ल्याउने रहेको बताए । १० दलको गठबन्धन सलह भन्दा बढ्ता हानिकारक भएको आरोप लगाउँदै ओलीले यो सरकार रहेसम्म अर्थतन्त्र सही ट्रयाकमा नआउने दावी गरे ।

ओलीले स्थिरता र स्थायित्वविना देश विकास र समृद्ध हुन नसक्ने भन्दै एमालेको बहुमतको सरकार बनाउने अठोट र संकल्पसहित एकल बहुमत हासिल गर्ने गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए । अहिलेको सरकार १० वटा टाला जोडेर बनेको भिजनविहीन भन्दै ओलीले यस्ताले देश कसरी बनाउंछन् भन्ने प्रश्न गरे । ‘यो सरकार कस्को नीतिमा चलेको छ, कांग्रेसको नीतिमा कि माओवादीको नीतिमा ?’ ओलीले भने,‘कि खानका लागि मात्रै हो ?’

रुपन्देहीमा जति भोट ल्याउनुपर्ने हो ल्याउन नसकेको उल्लेख गर्दै ओलीले विष्णु पौडेलको भोट गन्दा छक्क परेको उल्लेख गरे । ‘सबै वडामा ५१ प्रतिशत भोट एमालेको पक्षमा बनाऔं, बहुमत नआउनुपर्ने कुनै कारण छैन । सबै क्षेत्रमा एमालेका नीति, निर्णय काम अरु दलको तुलनामा धेरै अब्बल छन् । बालबालिका, युवादेखि वृद्धवृद्धासम्मलाई एमालेले सम्बोधन गरेको छ ।

‘एमाले सरकारमा हुँदा युवा देश बाहिर जाने दर १८ प्रतिशतले घटेको र कृषि उतपादन ८ प्रतिशतले बढेको थियो,’ ओलीले भने,‘२० वर्षमा नभएका काम एमालेको साढे ३ वर्षको सरकारको पालामा भएका थिए,एमालेले गरेका काम आफू बसेको ठाउँमै उभिएर हेरे देखिन्छ, डाँडा चढ्न पर्दैन ।’