पुरोहित्याइँः धर्म–संस्कृति क्षेत्रको स्वरोजगारी !

मेचीकाली संवाददाता

१६ चैत्र २०७९, बिहीबार
363 shares

घनश्याम कोइराला

यसै त पुरोहित शब्दको अर्थ कर्मकाण्ड गर्ने भन्ने मात्र होइन । पुरोहित शब्दको खास अर्थ अघि लाग्ने–लाग्नु भन्ने हो । तर, समयसान्दर्भिक बनाउन आवश्यक पर्दा पुरोहित शब्दलाई अन्य धेरै अर्थमा अथ्र्याउन पनि सकिन्छ । जस्तै: पुर भनेको नगर–बस्ती हो, हित भनेको त्यसको हितका लागि काम गर्ने हो । पुरा भनेको पहिले हो, हित भन्ना पुराना विषय वा वस्तुलाई जोगाउनु वा तिनीहरूको हित गर्ने हो । कतै भनिएको पनि छ, ‘वयं राष्ट्रे जागृयाम पुरोहिताः अर्थात् हामी राष्ट्रलाई जागृत गर्न–जागरण ल्याउने कामको अगुवाइ गर्दछौँ ।’ भाषाले मानिस बनाएको होइन, मानिसले आफ्नो सहजताका लागि भाषा बनाएको हो । समयसँगै अर्थ फेरिएका भाषिक सन्दर्भ अनेकौँ छन् । भाषाले अरुका कुरा आपूmलाई र आप्mना कुरा अरुलाई बुझाउने मात्र होइन; भाषाले त एतिहास, संस्कार, संस्कृतिसमेत वहन गर्दछ ।

अहिले समाजमा जातीय विभेद र असमानताका विषयमा जागरण बढेको छ । विभेद र असमानता घट्नु र निमिट्यान्नै हुनु आवश्यक छ । यसो गर्दा प्राचीन प्रवन्ध–प्रावधानहरूका विरुद्धमा र तिनलाई अवलम्बन गरिरहेका मानिसहरूका विरुद्धमा जथाभावी बोल्दै हिँड्नु उचित हुँदैन । विरोधले वैरभाव बढाउँछ, समाजमा थप द्वन्द्व सिर्जना हुन्छ । यसो गर्नाले एकले अर्काविरुद्ध लागिरहन मद्दत पु¥याउँछ, बदलाको भावना हुर्किन्छ र कहिल्यै शान्ति, सद्भाव हुँदैन । ती प्रवन्ध–प्रावधानहरूलाई राम्रोसँग बुझेर, उचित, अनुचित, आवश्यक, अनावश्यक ठह¥याएर व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

हाम्रो समाज बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक रहेको छ । सबै जाति, भाषा, धर्म, संस्कृति, धर्मका समुदायको आआफ्नै प्रथा–परम्परा, मूल्य–मान्यता रहिआएको छ,समाजमा बहुलता भएपछि सबैका फरकफरक हुनु स्वाभाविकै हो । अन्य कुनै समुदायलाई आघात नपर्ने गरी आफ्नो प्रचलनअनुसार गर्नु स्वाभाविक हो, यसो गर्न पाउनु प्रत्येकको अधिकार पनि हो । जात, धर्म र पेसाको आधारमा कसैलाई होच्याउन नहुने कुरा सबै नेपालीहरूका लागि उत्तिकै महत्वपूर्ण विषय हो ।

इस्लाममा मौलवी, बौद्धमा लामा, क्रिश्चियनमा पास्टर, हिन्दुमा पुरोहित आदि हुने परम्परा रहिआएको छ । अन्य धर्म–सम्प्रदायका पनि भिन्न नामका पुरोहित हुने कुरा अन्यथा होइन । अन्य धर्म–सम्प्रदायका पुरोहितहरूबारे केही कुरा उठाइन्न, तर हिन्दूका संस्कार विधि बताउने र तदनुसारका कर्मको सहजीकरण गर्ने पुरोहितहरूलाई ‘टपरे…’ आदि भनेर राजनीतिज्ञ, समाजसेवी आदिले पनि हेप्ने गरेको देखिन्छ । हिन्दू धर्ममाथि मात्र धर्मनिरपेक्षताको मुङ्ग्रो बजार्ने व्यवहार हुँदै आएको छ । यस्तो वचन र व्यवहारलाई धर्मनिरपेक्ष राज्य सुनिश्चित गरेको नेपालको संविधानले पनि उचित मान्दैन । कुनै जाति, प्रथा, परम्परा, ससांस्कृतिक, धार्मिक पद्धतिमाथि औँला ठड्याउनु, अनुचित शब्द प्रयोग गर्नुअघि संवैधानिक प्रावधानहरू बुझ्न आवश्यक छ । संविधानका केही विषय यस प्रकार छन् ः—

‘…….“धर्मनिरपेक्ष” भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ ।’
‘…….प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछ ।
‘……..धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ ।’
‘………कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन ।’ (नेपालको संविधान २०७२)

बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक समाज, राज्य, राष्ट्रमा कुनै पनि एउटै मान्यता हुँदैन, एउटै प्रकारको संस्कार र मान्यता पनि हुँदैन । संस्कार–संस्कृति मान्ने एउटै विधि हुँदैन । बहुदलीय राजनीतिक प्रणाली भएकोले एउटै राजनीतिक विचार र दल पनि हुँदैन । यो स्वाभाविक हो, तर कुनै एउटा जात, संस्कार, संस्कृति, पेसालाई होच्याउने अधिकार कसैलाई पनि छैन । ‘टपरे’सँग सम्बन्धित केही विषय अघि सार्न आवश्यक ठानेको छु ।

धर्म, कर्म कि संस्कार–संस्कृति ? यो विषय बुझ्न आवश्यक छ । धर्मविरोधी अन्धविश्वासले सही कुरा बुझ्न बाधा पारिरहेको छ । जीवन र जगतलाई बुझ्न प्रयास गरे अन्धविश्वास हट्छ । अन्धविश्वास हटाउनु हरेक इमान्दारको कर्तव्य हो ।
शिशुको पहिलो अधिकार परिचयका लागि नाम पाउनु । हाम्रोमा बच्चालाई यसरी नाम दिन विशेष कार्यक्रम आयोजना गरिन्छ । यस्तो विशेष कार्यक्रमलाई न्वारन÷नामकरण भनिन्छ । सनातन संस्कृतिमा यसलाई नामकरण संस्कार भनिन्छ । मानिस जन्मेपछिको उसको नाममा हुने यो पहिलो संस्कार हो ।

मानिस होस् वा अन्य प्राणी, जन्मेपछि क्रमशः हुर्कंदै जान्छ । हुर्कने क्रममा उसको पाचन क्षमता र खाद्य आवश्यकता बढ्दै र फेरिँदै जान्छन् । घरपालुवा पशुहरू पाडापाडी, बाच्छाबाच्छी, पाठापाठी आदिलाई क्रमशः घाँस, फाँडो, कुँडो, पराल आदि खाद्य दिने गरिन्छ । त्यसैगरी मानिसकोे शिशुलाई पनि आमाको दुदको अतिरिक्त अन्य खाद्यवस्तुहरू पनि खुवाउन पर्ने हुन्छ । हाम्रा पुर्खाले यसको लागि पनि समयको एकरूपताको ख्याल गरेका छन् र एउटा संस्कार नै स्थापित गरेका छन् । चलनचल्तीमा भात खुवाइ, पाश्नी भनिने यो कर्म ‘अन्नप्राशन’ संस्कार हो ।

यसैगरी उमेर बढ्दै जाँदा पढ्न प्रारम्भ गर्ने, कान छेँडने, पारिवारिक अनुशासनमा बाँधिने, घर छोडेर गुरुको समीप थप कडा अनुशासनमा बसेर सैद्धान्तिक शिक्षा तथा व्यवहारिक ज्ञान प्राप्त गर्ने, यसो गर्दा विशेष प्रकारको चिन्ह÷पहिरन धारण गर्ने, अध्ययन सकेर घर फर्कने, विवाह गर्ने, सन्तानोत्पादनका उपक्रमहरू व्यवस्थित गर्ने, मरेपछि अन्त्येष्टि (मृत्यु भएपछि) गर्ने गरिन्छ । मानिसको जीवनमा जन्मेपछि पहिलो नामकरण संस्कार र मरेपछि गरिने अन्तिम संस्कार अन्त्येष्टि गरिन्छ । जीवन व्यवस्थापनका लागि पुर्खाले बसालेका यिनै थितिहरूलाई हामीले संस्कार भन्दै आएका छौँ ।

सामान्यतः विवाह हुने भनेको स्त्री र पुरुषका बिचमा हो । अर्को हिसाबले हेर्ने हो भने विवाह मानिसहरूको परिवार बसाउने सम्झौता हो । यो सम्झौता जीवनभरिको लागि गरिने सम्झौता हो । यस कार्यले परिवार–परिवारका बीचमा सम्बन्ध विकास गर्दछ ।
विवाहका धेरै प्रकारहरू छन् । शास्त्रमा आठ प्रकारको विवाह बताइएको छ । यसलाई सनातन संस्कृतिमा ‘विवाह संस्कार’ भनिएको छ । यो मानिसको जीवनमा साह्रै ठूलो महत्वको विषय हो । यसलाई पनि समारोहपूर्वक सम्पन्न गर्ने चलन छ ।
सनातन संस्कृति कृतज्ञताको संस्कृति हो । जीवित आमाबालाई सृष्टिका मूलशिक्षा र ज्ञानका स्रोत, जीवनका आधार, पृथ्वी र आकाशका रूपमा स्वीकार गरिएको हुन्छ । उहाँहरू प्रतिको दायित्व मृत्युपछि पनि रहेको स्वीकार गरिन्छ । जीवितका लागि माता अमावस्या, पिता अमावस्यालाई उहाँहरूप्रति सम्मान गर्ने दिनको रूपमा मनाउने गरिन्छ । आमाबाको मृत्युपछि पनि वहाँहरूलाई सश्रद्धा सम्झना गरी योगदानहरूप्रति कृतज्ञ हुने प्रावधानहरू छन् । मृत्युपछि श्रद्धा व्यक्त गर्ने कार्यलाई श्राद्ध भनिन्छ । यसलाई पनि विशेष ढंगले आयोजना गरिन्छ । के कुनै व्यक्ति मरेपछि उनीहरूको योगदानको श्रद्धा र स्मरण गर्ने कुरा गलत हो र ? नेताले देशको लागि योगदान गरे होलान्, साहित्यकारले संसारको लागि योगदान गरे होलान्, आमाबाले हाम्रा लागि गरे । योगदान त योगदान नै हो र योगदानको सम्मान र सम्झना गर्नु साह्रै गतिलो काम हो ।

सनातन संस्कृतिमा दिदीबहिनीको लागि, दाजुभाइको लागि, गुरुको आदिका लागि सम्मान गर्ने तिथिहरू निर्धारित छन् । नाग (सर्प), काग, कुकुर, गाई, गोरु आदि जनावरको सम्मानका लागि विशेष दिनहरू छन् । सनातन संस्कृतिमा यी सबै दिनहरू विशेष आयोजनापूर्वक मनाउने प्रचलन रहेको छ ।
सनातन संस्कृतिमा सूर्य, चन्द्र, मंगल, वृहस्पति आदि सबै ग्रह, नक्षत्रहरूलाई, सभ्यता विकासमा योगदान भएका नदीहरूलाई दिनहुँ सश्रद्धा स्मरण गर्ने प्रचलन छ । हामी सबै मानिसहरू यी सबैबाट लाभान्वित छैनौँ र ? धर्ती र सौर्य मण्डलमा जे छन्, संसारको सन्तुलनमा सबैका योगदान छैनन् र ? सबैका विषयमा जानकारी राख्नु, योगदानलाई स्मरण गर्नु, सम्मान गर्नु, यिनीहरूको सम्मान र सम्झनामा विशेष आयोजन गरी महत्व बुझ्ने, बुझाउने काम सही होइन र ?

यी सबै कामका केही न केही नाम त हुने नै भयो । यसका केही न केही विधि त हुने नै भयो । यसका कोही न कोही सहजकर्ता त हुने नै भए । यस्तो सहजीकरण गर्ने कामलाई कर्मकाण्ड भनियो । सहजकर्तालाई पुरोहित भनियो । पुरोहितले गर्ने कामलाई पौरोहित्य, पुरोहित्याइँ, पुरेत्याइँ भनियो । यो धर्म–संस्कृति क्षेत्रको स्वरोजगारी पनि हो । कसैको काम अरु कसैले गरिदिँदा पारिश्रमिक लिने–दिने विषय अत्याचार होइन, बरु आवश्यक हो र स्वाभाविक हो । तोकेर नै लिने–दिनेलाई पारिश्रमिक भनिन्छ भने त्यस बापत बुद्धि पु¥याएर स्वेच्छाले दिने दातव्यलाई दक्षिणा (दान होइन) भनिन्छ । यसमा केको चित्त दुखाइ ? संस्कार आफ्नो या आपूmले गर्नुपर्ने, अरुको सहयोग लिने र सहयोग गर्नेलाई ‘टपरे, लोभी’ आदि भन्न मिल्छ र ?

यी विषयलाई सनातनीहरूले धर्मअन्तर्गत पारेका छन् । तथाकथित धर्म विरोधीहरूले उपरोक्त कर्महरू गर्न आवश्यक छ कि छैन ? उनीहरूले सन्तानको नाम राख्दैनन् र ? सन्तानलाई अन्न खुवाउँदैनन् ? सन्तानलाई शिक्षा दिँदैनन् ? तोकिएको पहिरन–चिन्ह पहिराउँदैनन् ? विवाहभोज गर्दैनन् ? मानिस मरेपछि केही नगरी आँगनमै राख्छन् ? योगदानको सम्मानमा श्रद्धाञ्जली आदि व्यक्त गर्दैनन् ? धर्ती र सौर्यमण्डलको शक्ति स्वीकार्दैनन् ? धर्म नमान्दा यी केही पनि नगर्ने छुट लिन सक्छन् ? कसैले धर्म मान्न वा नमान्न सकिन्छ । तर, त्यसभन्दा पहिले के धर्म, कस्तो धर्म भन्ने विषयमा अलिकति बुझ्न आवश्यक हुन्छ । पहिले नेपालमा धर्म मान्ने अन्धविश्वासीहरू थिए, तर अहिले धर्मविरोधी अन्धविश्वास बढेको छ ।

टपरे के हो त ? राख्ने, लिने, दिने आदि सबैमा टपरा प्रयोग गर्ने–गराउने भएको हुनाले त्यस्तो गराउनेलाई टपरे भनिएको हो । टपरा नै किन त ? पुरेतलाई सुन–चाँदीका, तामो–पित्तलका, काँस आदि अन्य धातुका भाँडा मन नपरेर होइन, ती भाँडामा राख्न नजानेर होइन, ती भाँडा घर बोकेर जाँदा भारी हुन्छ भनेर होइन । बरु, यहाँ बुझ्नैपर्ने केही विषय छन् ।

पहिलो, घरमा प्रयोग भइरहेका भाँडा अशुद्ध हुन सक्छन् । नयाँ किन्दा खर्चिलो हुन्छ । दोस्रो, यजमान धनी हुन् वा गरिब, सबैले दुनाटपरी नै प्रयोग गर्दा समानता अभिव्यक्त हुन्छ । दुनाटपरी प्रयोगमा नल्याउने हो भने धनीमानीले धातुका महँगा भाँडा र अन्यले पातका भाँडा प्रयोगमा ल्याउँदा मानिसमा कस्तो असमानताको भावना विकास होला ? धातुका महँगा भाँडा प्रयोग गर्न नसक्नेहरूमा हीनताबोधबारे अनुमान गर्न सकिँदैन र ? तेस्रो, त्यहाँ स्थापना गरिएका र प्रयोग गरिएका कतिपय भाँडा यजमानले फिर्ता लिन मिल्दैन । यजमानको खर्च जोगाइदिन पनि दुनाटपरी प्रयोग गरिएको हो । सबैले टपरा प्रयोग गर्ने समानताको अन्यथा अर्थ लगाउनु सर्वथा गलत हो । यस्ता अन्य कारणहरू छन्, जसले कर्मकाण्डमा पातका दुनाटपरी प्रयोग गर्न उपयुक्त हुन्छ । यसरी टपरी समानताको द्योतक हो, टपरे समानताका व्यवहारिक पक्षपाती हुन् ।

कर्मकाण्ड मानिसका संस्कारका विषय हुन् । संस्कार मानिसका लागि आवश्यक हो । धेरै मानिसको आवश्यक भएपछि यो सामाजिक आवश्यकता बन्दछ । पुजारी, पण्डित, पुरोहितहरू हाम्रो समाजका सांस्कृतिक जनशक्ति हुन् । यी क्षेत्र सांस्कृतिक श्रमका क्षेत्र हुन् । कुनै पनि पेसा–व्यवसाय कुनै मानिसको चाहनाले नभई सामाजिक आवश्यकताले सिर्जित र विकसित हुन्छन् । पुरोहित्याइँ समाजको आवश्यकताले सिर्जिएको हो । हाम्रो समाजमा पुरोहित्याइँ कानुनले निषेध गरेको पेसा पनि होइन ।

माथि उल्लेख गरिएका संवैधानिक प्रावधानहरूले पण्डित, पुजारी, पुरोहितहरूलाई होच्याउन दिन्छ र ? राजनीतिज्ञले राज्यबाट आर्थिक सुविधा लिएका छन् । राजनीति गर्नेहरूले भ्रष्टाचार नगरेका हुन् र ? प्रशासनिक क्षेत्रमा हुने गरेका भ्रष्टाचार जनताले थाहा नपाएको विषय हो र ? तर, सबै राजनीतिकर्मी, सबै प्रशासनिक कर्मचारी भ्रष्ट छन् त ? होइन राजनीति होस् वा प्रशासन, यो समाज र राष्ट्रको आवश्यकता हो । यहाँ शुद्धता र अशुद्धता दुवै छन् । त्यसैले, केही विरोधका बावजुद जनताले सहनै परेको छ । धार्मिक–सांस्कृतिक क्षेत्रमा पनि कुनै व्यक्ति लोभी होलान् । कसैबाट ठगी भएको होला । यस क्षेत्रमा पनि विसंगति रहेको होला । यो क्षेत्र पनि समाजको आवश्यकताले सिर्जिएको पेसा–कर्म हो । त्यसैले यसको समग्रतालाई होच्याउन मिल्दैन । पुरोहित्याइँ गैरकानुनी, अवैधानिक काम होइन, धार्मिक–सांस्कृतिक क्षेत्रको स्वरोजगारी हो । (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ।)