एसईई परीक्षा आजदेखि, लुम्बिनीबाट ८५ हजार परीक्षार्थी सहभागी

मेचीकाली संवाददाता

१७ चैत्र २०७९, शुक्रबार
275 shares

बुटवल । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ । बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने परीक्षको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । ‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग बिहीबार नै अनलाइनमार्फत बैठक सम्पन्न भएको छ,’उहाँले भने,‘परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गराउन सबैमा आह्वान गर्दछौँ ।’ उनले सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पु¥याउनेलगायतका सबै काम सकिएको जानकारी दिए ।

एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा सात प्रदेशका प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयका सचिवहरु, सातै प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशकहरु, ७७ वटै जिल्लाका शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुखहरु, राष्ट्रिय परीक्षा बोर्डका प्रदेश र शाखा कार्यालयका प्रमुुखहरु, बोर्डका अध्यक्ष, सदस्य सचिव, परीक्षा नियन्त्रण, उपनियन्त्रक कर्मचारीलगायतको भर्चुअल बैठक सम्पन्न भएको बताए । उनले प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेश भित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने बताए ।

त्यस्तै प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्नपत्र प्रहरी निकायसम्म पु¥याउने, उत्तरपुस्तिका परीक्षा केन्द्रसम्म पु¥याउने र आवश्यक समन्वय गर्ने कामसमेत पूरा भएको उनको भनाइ छ ।

करिब पाँच लाख परीक्षार्थी
एसईई परीक्षाका सहभागिता जनाउनका लागि यसवर्षका लागि परीक्षामा सहभागि हुन २०७८ मा कक्षा नौमा रजिस्ट्रेशन भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कूल चार लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए । परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा नौबाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेको जानकारी दिए ।

परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदैछन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन् । यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसईईमा सहभागी हुँदैछन् । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए ।
त्यस्तै वागमती प्रदेशमा सबैभन्दा बढी ४३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा कम १७९ परीक्षा केन्द्र कायम गरिएको छ । कोशी प्रदेशमा ३७८, मधेस प्रदेशमा २७९, गण्डकी प्रदेशमा २२३, लुम्बिनी प्रदेशमा ३३४ र सुदूरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसईईमा अघिल्लो वर्ष देशभरबाट पाँच लाख १८ हजार १८५ विद्यार्थीले आवेदन दिएपनि परीक्षामा भने चार लाख ९५ हजार ६४८ जना परीक्षामा सहभागी भएका थिए ।

तस्बिर लिन निषेध
परीक्षा नियन्त्रक श्रेष्ठले विद्यार्थीलाई कुनै डरत्रास नलिई ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन् । परीक्षा केन्द्रमा परीक्षामा लैजान नहुने कुनै पनि वस्तु लगेको पाइएमा र जबर्जस्ती गर्न खोजेमा वा केन्द्रमा खटिएका कर्मचारीबाट कुने गलत गतिविधि भएका प्रचलित कानूनअनुसार कारबाही हुने बताए ।
परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइने भएको छ । परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन नपाइने भएको छ । यसपटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरुको तस्बिर लिन पाइने तर परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।

उनले भने,‘अनुगमन तथा तस्बिर लिने नाममा परीक्षा हलभित्र मानिस पस्दा विद्यार्थीको मनोबल गिर्छ, परीक्षार्थीलाई अवरोध हुने गरी तस्बिर लिँदा, विद्यार्थी टोलाउने, को आयो भनेर हेर्दा लेखिरहेको उत्तर पनि बिग्रने सम्भवना र गुनासा आएकाले यसवर्ष परीक्षा हलभित्र तस्बिर दिन नपाइने व्यबस्था गरेका छौँ ।’
विद्यार्थीका लागि एक मिनेट, एक सकेण्डको पनि महत्व हुने भएकाले परीक्षा हलभित्र तोकिएको व्यक्ति र परीक्षा समिति तथा सम्बिन्धत निकायको व्यक्ति बाहेक पसेर अन्यलाई अनुगमन तथा तस्विर लिने नाममा जथाभावी परीक्षा हलमा नपठाइने भएको हो ।

७८ हजार जनशक्ति
एसईई परीक्षाका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन हुने भएका छन् । प्रत्येक परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति परिचालन हुने नियन्त्रक श्रेष्ठले जानकारी दिए ।
परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जनक शिक्षा सामग्री केन्द्रमा छपाइ सकेर जिल्ला जिल्लामा पु¥याइसकिएको छ । यसवर्षको परीक्षामा ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेशगत रूपमा फरक–फरक सेट प्रश्नपत्र छपाइ गरी सोहीअनुसार ढुवानी गरिएको हो । विद्यार्थीको अनुपातमा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाइ भएको जनक शिक्षाले जनाएको छ ।

जापानमा पनि परीक्षा केन्द्र
बोर्डले यसवर्ष जापानमा पनि एसईई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसईई परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको हो ।
त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि इमेलमार्फत पठाउने भएको छ ।

परीक्षाको तालिका
एसईई परीक्षा चैत १७ गतेबाट २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजे सुरु भएर ११ बजेसम्म हुनेछ । परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । चैत १९ गते आइतबार अनिवार्य गणित विषयको परीक्षा हुने छ ।
त्यसैगरी चैत २० गते सोमबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ । त्यसैगरी चैत २२ गते बुधबार अनिवार्य विज्ञान, चैत २३ गते बिहिबार अनिवार्य सामाजिक अध्ययन, चैत २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षा हुने छ । यस्तै चैत २५ गते शनिबार साधारण तथा संस्कृततर्फः ऐच्छिक प्रथमपत्रका सबै विषयहरु, चैत २६ गते आइतबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयपत्रका विषयहरुको परीक्षा हुने छ ।

लुम्बिनीबाट एसइईमा ८५ हजार परीक्षार्थी
आजदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन् । नियमित साधारणतर्फ ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेडवृद्धितर्फ दुई हजार तीन सय दुई परीक्षार्थी सहभागी छन् ।

लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका अनुसार एसइईमा प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीबाट १८ हजार सात सय ८३ तथा सबैभन्दा कम पूर्वी रुकुमबाट एक हजार ९८ परीक्षार्थी सहभागी छन् । यस्तै दाङबाट १३ हजार चार सय ४८, बाँकेबाट आठ हजार आठ सय ८६, कपिलवस्तुबाट आठ हजार छ सय ९९, बर्दियाबाट सात हजार छ सय ८२, पश्चिम नवलपरासीबाट छ हजार ६२, पाल्पाबाट चार हजार पाँच सय ४६, गुल्मीबाट चार हजार सात सय २२, अर्घाखाँचीबाट तीन हजार दुई सय ७५, रोल्पाबाट चार हजार ५१ र प्यूठानबाट चार हजार एक सय ७२ परीक्षार्थी सहभागी भएको निर्देशनालयका सूचना अधिकारी माधव पोखरेलले जानकारी दिए ।

परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीमध्ये नियमिततर्फको साधारणमा ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेड वृद्धितर्फ दुई हजार तीन सय दुई विद्यार्थी छन् । एसइई परीक्षालाई मर्यादित, अनुशासित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न प्रदेशका १२ वटै जिल्लामा तीन सय ३४ परीक्षा केन्द्रमा तीन सय ३४ केन्द्राध्यक्ष र पाँच सय ७७ सहायक केन्द्राध्यक्ष खटाइएको प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक यमबहादुर केसीले जानकारी दिए ।

रुपन्देहीबाट १८ हजार ८५० विद्यार्थी सहभागी
बुटवल । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीबाट १८ हजार ८५० जना विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि रुपन्देहीमा ५६ वटा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका अनुसार १७० सामुदायिक र १६८ संस्थागत विद्यालय गरी ३३८ विद्यालय, खुला प्राविधिकतर्फ १२ वटा विद्यालयका ४४२ विद्यार्थी, ग्रेडवृद्धिका ४७१ जना र नियमित विद्यार्थी १७ हजार ८७१ गरी कूल १८ हजार ८५० जना विद्यार्थीले परीक्षा दिने भएका हुन् ।

जिल्लास्तरीय परीक्षा समन्वय समिति रुपन्देहीका अध्यक्ष रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । परीक्षालाई शान्तिपूर्ण र मर्यादित गराउन परीक्षा केन्द्रमा अनुगमनको नाममा फोटो खिच्न र भिडियो बनाउन तथा बाहिर भिडभाड गर्न नपाइने उनले बताए ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपार्इंले रुपन्देही जिल्लाको एसईई परीक्षालाई व्यवस्थित गर्न पालिकाहरूसँग समन्वय गरेर हेल्थडेस्क व्यवस्थापन गरएिको बताए । एसईई परीक्षाका केन्द्राध्यक्षहरुलाई गत सोमबार नै अभिमुखीकरण तालिम दिएको उनले बताए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका इकाइ प्रमुख तथा जिल्लास्तरीय परीक्षा समन्वय समितिका सदस्यसचिव दीपेन्द्र ढकालले विद्यार्थीहरूले परीक्षामा प्रवेशपत्र अनिवार्य साथमा लैजानुपर्ने, विद्यार्थीहरू विद्यालय ड्रेसमा हुनुपर्ने, परीक्षा केन्द्रमा अनुगमनकर्तालाई प्रवेशपत्र विना प्रवेश गर्न नदिने बताए । साथै उनले रुपन्देही जिल्लाको परीक्षा शून्य ध्वनि प्रदूषण र चिटिङलेस बनाउने बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत विश्वकर्माले परीक्षाको समयमा आबश्यक सुरक्षा व्यवस्था मिलाइसकेको बताए ।

देशभरकै सबैभन्दा ठुलो परीक्षा केन्द्र रुपन्देहीको केन्द्र नम्बर २७ नवीन औद्योगिक कदरबहादुर रीता मावि देवीनगर रहेको छ । जसमा ‘क’ केन्द्रमा ६७५ र ‘ख’ केन्द्रमा २४६ गरी ९६१ जना परीक्षार्थीहरु रहेका छन् ।
त्यस्तै रुपन्देहीको सबैभन्दा सानो परीक्षा केन्द्र नम्बर ४७ नवरत्न मावि सेमलार हो । जसमा १३४ जना परीक्षार्थीहरु रहेका छन् । रुपन्देहीको मेरीगोल्ड बोर्डिङ्ग स्कुलबाट भने २ जना मात्र विद्यार्थी एसईई परीक्षमा सहभागी हुँदैछन् ।