पत्रकार महिलाको नेतृत्वमा चौतारीको नगर कमिटी गठन

मेचीकाली संवाददाता

१८ चैत्र २०७९, शनिबार
292 shares


पाल्पा । प्रेस चौतारी नेपाल तानसेनको नगर भेलाले गुणवती केसीकोे नेतृत्वमा पत्रकार महिलाहरुको नगर कमिटी गठन गरेको छ ।
संगठन सुदृढीकरण तथा विस्तार अभियान अन्तरगत तानसेनमा बसेको नगरस्तरीय भेलाले सामुदायिक रेडियो मदनपोखराकी रेडियो प्रतिनिधि गुणवती केसीको अध्यक्षतामा प्रेस चौतारी नेपाल तानसेन नगर कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा सामुदायिक रेडियो मदनपोरामा कार्यरत सिर्जना कार्की थापा, सचिवमा हिमालयन टेलिभिजनकी पाल्पा संवाददाता पबित्रा पराजुली, कोषाध्यक्षमा सामुदायिक रेडियो मदनपोखरामा कार्यरत सुमित्रा कंडेल सर्वसम्मत निर्वाचित भएको प्रेस चौतारी नेपाल पाल्पा शाखाका निर्वतमान अध्यक्ष तथा भेलाका संयोजक राजेन्द्र लिगलले जानकारी दिए । नवगठित नगर कमिटीको सदस्यहरुमा सनराईज टेलिभिजनकी संजिला कार्की, करुवा अर्धसाप्ताहिक पत्रिकाकी सिर्जना बोहरा र श्रीनगर सामुदायिक टेलिभिजनकी सुजाता खराल निर्वाचित भएको संयोजक लिगलले बताए ।


भेलामा कमिटी गठन बारे जानकारी गराउदै जिल्ला अध्यक्ष कृष्ण कार्कीले जिल्लामा मात्र सीमित रहेको चौतारीको नवौं महाधिवेशनबाट पारित विधानअनुसार हरेक गाउँपालिकामा समिति गठन गर्ने उल्लेख रहेको जानकारी गराउँदै सोही विधान अनुसार पाल्पामा पहिलो चौतारीको स्थानीय तहमा कमिटी निर्माण गरेको बताए । जिल्लामा पत्रकार महिलाहरुको संख्या कमजोर भएकोले त्यसको वृद्धिका लागि कमिटीले काम गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेस चौतारीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमलराज तिमिल्सेनाले कमिटीले पाल्पाली पत्रकारितामा नयाँ आयाम थपेको बताए । उनले नवगठित कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पत्रकारितासँगै सिद्धान्त र विचारको पृष्ठभूमीबाट जनताका सवाल उठाउनुपर्नेमा जोड दिए ।


नेकपा एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराँस आत्रेयले गठन भएको नयाँ कमिटीलाई आवश्यक सहयोग गर्ने वचन दिँदै पाल्पाको पत्रकारितालाई उर्वर भूमि बनाउनुपर्नेमा जोड दिए । उनले क्रियाशीलताले मात्र अस्थित्व बचाउने बताउँदै त्यहि लयमा कलम चलाउन पत्रकारहरुलाई आग्रह समेत गरे ।


भेलामा प्रगतिशिल लेखक संघका जिल्ला अध्यक्ष रामप्रसाद अर्याल ,प्रेस चौतारी लुम्बिनी प्रदेश सदस्य कृष्ण पोखरेललगायतले प्रेस चौतारी पाल्पाको हरेक कार्य नयाँ र एतिहासिक बनेको बताए । उनीहरुले सबै काम गर्व गर्ने लायक बनेको र नयाँ बनेको कमिटीले पनि सो अनुसार क्रियाशील भएर काम गर्ने विश्वास व्यक्त गर्नुभएको भेला आयोजक समितिका सदस्य सन्तोष बस्यालले जानकारी दिए ।