बुटवल–पाल्पा सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने

मेचीकाली संवाददाता

२० चैत्र २०७९, सोमबार
173 shares

बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ ।

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित रामापिथेकस पार्क नजिकै डाइभर्सन निर्माण गर्ने काम भइरहेकाले चैत २३ गतेदेखि राजमार्ग बन्द गर्न लागिएको हो ।

डाइभर्सन निमार्णका क्रममा माथिबाट खुकुला ढुंगाहरु खसेर जोखिम बढाएपछि मंगलबारदेखि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजे तथा रातको १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको उनले बताए । सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख रुपैयाँ रकममा सुरुङमार्गको ठेक्का पाएर काम सुरु गरिरहेको छ । अर्को सूचना जारी नभएसम्म सडक बन्द हुने बताइएको छ । एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधन सञ्चालनमा भने अवरोध नगर्ने निर्णय भएको छ ।

बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट चट्टानसहितको पहिरो खसेर बेला–बेलामा ठूलो हानीनोक्सानी हुने गरेको छ । पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, कास्की लगायतका जिल्लामा आवतजावत गर्ने महत्वपूर्ण राजमार्गको रुपमा लिइन्छ । यही सडकमा माथिबाट खसेको पहिरोले बर्सेनि धेरैले ज्यान गुमाउनु परिरहेको छ ।