बुद्धभूमिमा एक शिक्षक एक ल्यापटप

मेचीकाली संवाददाता

२१ चैत्र २०७९, मंगलवार
181 shares

पार्वती आचार्य
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले एक शिक्षक एक ल्यापटप कार्यक्रमलाई ल्याएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक निति तथा कार्यक्रमअन्तर्गत सोमबार शिक्षकहरुलाई ल्यापटप हस्तान्तरण गरिएको हो ।

नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले शिक्षकलाई प्रविधिमैत्री बनाउन ‘एक शिक्षक एक ल्यापट’ कार्यक्रम अत्ति उपयुक्त भएको बताए । शिक्षा क्षेत्रको विकासले मात्र समाज सकारात्मक दिशातर्फ उन्मुख हुने भएको हुँदा शिक्षालाई समयानुकुल बनाउनुपर्ने बताए । शिक्षामा सबैको पहुँच भन्ने नारालाई पूरा गर्न नगर प्रतिबद्ध रहेको बताउँदै उनले शिक्षामा सरकारले ठूलो लगानी गरेको जनाएका छन् ।

साथै व्यक्ति शिक्षित भए परिवार शिक्षित हुने र परिवार शिक्षित भए भने समाज शिक्षित हुने भएको हुँदा नगरले शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । नगरले शिक्षालाई गुणस्तरियता कायम गर्न यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने नगरप्रमुख श्रेष्ठले प्रतिबद्धता जनाए ।

नगरपालिकाको ८ वटा विद्यालयका ३९ जना शिक्षकहरुमध्ये ३२ जना शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर राउत क्षेत्रीले जानकारी दिए । राउत क्षेत्रीका अनुसार बाँकी रहेका ७ जना शिक्षकहरुलाई केही दिनभित्रै कार्यक्रमको आयोजना गरी ल्यापटप हस्तान्तरण गरिने छ । ५० प्रतिशत नगरको र ५० प्रतिशत स्वयम् शिक्षकको लागतमा ‘एक शिक्षक एक ल्यापट’ कार्यक्रमअनुरुप ल्यापटप हस्तान्तरण गरिएको राउत क्षेत्रीले बताए ।

पछिल्लो समय प्रविधिअनुसार बिभिन्न गतिविधिहरु सञ्चालन गर्नुपर्ने भएको हुँदा र कक्षाकोठाको शिक्षण सिकाइ क्रियाकलापमा सुधार गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत राउत क्षेत्रीको भनाइ छ । बुद्धभूमि नगरपालिकाले हरेक वर्ष विद्यालय, शिक्षक साथै विद्यार्थीहरुलाई आवश्यक सामग्री वितरण गर्दै आएको छ ।