लुम्बिनी पिस ओपन हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई

मेचीकाली संवाददाता

२३ चैत्र २०७९, बिहीबार
229 shares

बुटवल । लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगिताको उपाधि दीपक अधिकारी र राजपुरा पछाईले जितेका छन् । प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले १ घण्टा ६ मिनेट २ सेकेन्डमा २१ किलोमिटरको दुरी पूरा गरेका थिए । उनले १ लाख ५० हजार रुपैयाँ नगद प्रमाणपत्र तथा मेडल पाए ।

यस्तै, महिलातर्फ नेपाल प्रहरीकी पछाईले १ घण्टा २४ मिनेट २ सेकेन्डमा २१ किलोमिटरको दुरी पूरा गरेकी थिइन् । उनले १ लाख ५१ हजार रुपैयाँ नगद प्रमाणपत्र तथा मेडल पाइन् ।
अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा बिहीबार मदन भण्डारी स्पोर्ट्स एकेडेमीले शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थल लुम्बिनीमा प्रतियोगिता आयोजना गरेको थियो । मायादेवी मन्दिर प्रवेशद्वारबाट सुरु भएको म्याराथनमा प्रतियोगिहरुले पर्साचोकबाट पुनः महिलबार हुँदै २ फन्का लगाएर २१ किलोमिटरको दुरी पार गरेका थिए ।

प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पार्कीले १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो भए । त्रिभुवन आर्मीका मुकेश पाल १ घण्टा ७ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै तेस्रो र त्रिभुवन आर्मीकै नरेन्द्र रावल १ घण्टा ७ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै चौथो हुन सफल भए । पुरुषतर्फ त्रिभुवन आर्मीका गजेन्द्र राई पाँचौं र महिनदेव जोशी छैटौं भए ।

एपीएफका राजेन्द्र तामाङ सातौं एवं त्रिभुवन आर्मीका जितेन्द्र दनुवार आठौं, प्रेमबहादुर बस्नेत नवौं र टंक कामी दसौं भए ।
यस्तै, महिलातर्फ एपीएफका विन्द्रा धान्के श्रेष्ठ १ घण्टा २६ मिनेट ७ सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो भइन् । नेपाल प्रहरीका रेखा विष्ट १ घण्टा २६ मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै तेस्रो र त्रिभुवन आर्मीका पूर्णलक्ष्मी १ घण्टा २८ मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै चौथो हुन सफल भइन् । महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा पाँचौ र एपीएफका आशा रावल छैटौं भए । त्रिभुवन आर्मी क्लबका निर्मला केसी सातौं एवं खुलाबाट आठौं सुर्खेतकी विन्दु हमाल, त्रिभुवन आर्मीकी निर्मला पुन नवौं र शारदा शाही दसौं भइन् ।

प्रतियोगितामा दुवै विधामा दोस्रो हुनेले ७५ र तेस्रोले ५० हजार रुपैयाँ नगद पुरस्कार पाए । त्यस्तै पाँचौंले २० हजार, छैटौंले १० हजार, सातौंले ७ हजार, आठौंले ५ हजार र नवौं तथा दसौंले ५–५ हजार नगद प्रमाणपत्र तथा मेडल पाए ।
नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीस्थित शान्तिदीपमा बालेको दीप प्रशिक्षक तथा ओलम्पियन चन्द्रबहादुर गुरुङ, विमला राना र मोहन घलेलाई हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरेका थिए ।

प्रतियोगितामा देशभरका दुई हजार पाँच सय ५० महिला तथा पुरुष खेलाडी सहभागी रहेको आयोजक संस्था मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।