को हुन् गणेश ? के हो गणेश प्रवृत्ति ?

मेचीकाली संवाददाता

२३ चैत्र २०७९, बिहीबार
1380 shares

घनश्याम कोइराला

गजाननं भूतगणदि सेवितम्, कपित्थजम्बूफलचारुभक्षणम् । उमासुतं शोकविनाशकारकम्, नमामि विघ्नेश्वरपादपङ्कजम् अर्थात् हात्तीको जस्तो मुख भएका, भूतगणद्वारा सेवित–सेवा प्राप्त गरिरहेका कपित्थ, जम्बू आदि फल रुचिपूर्वक खाने, उमाका पुत्र, सबै प्रकारका विघ्नभन्दा माथि–विपत्तिहरूबाट नआत्तिने यस्ता (गणेश) को कमलरूपी पाउमा नमस्कार गर्दछु । यसरी गणेशको पूजा–वन्दना गरिन्छ । यसबाट गणेश को हुन्, कस्ता थिए भन्ने पनि स्पष्ट हुन्छ ।

एकातिर यसो गरिन्छ भने अर्कातिर गणेश प्रवृत्तिको विरोध पनि भइरहेको देखिन्छ । यस्तो द्वैध मनोविज्ञान किन ? मानिसको मनमा द्विविधा (दुविधा) त्यति बेलासम्म रहन्छ, जति बेलासम्म ऊ स्पष्ट हुन सकेको हुँदैन । त्यसैले, यहाँ गणेश र गणेश प्रवृत्तिबारे बुझ्न आवश्यक देखिन्छ । यो बुझ्न यससम्बन्धी धर्म, संस्कृति र परम्परा बुझ्नैपर्ने हुन्छ ।

हुन त हिजोआज मानिसहरू धर्मलाई अन्धविश्वास भन्ने तर छोड्न नसक्ने स्थितिमा रहेको देखिन्छ । आफँै पूजा गर्छन् या पूजामा सहभागी हुन्छन्, अनि त्यसलाई अन्धविश्वास पनि भन्दछन् । वास्तवमा यसरी गरिने पूजा होस् वा अन्य केही, अन्धविश्वास नै हो । अर्थ नबुझी देखासिकी गर्नु नै अन्धविश्वास हो । जानेर जे गरिन्छ, त्यो नै विज्ञान हो, नजानेर जे गरिन्छ, त्यो अन्धविश्वास हो । त्याग्नु वा अपनाउनु मात्र विश्वास÷विज्ञान वा अन्धविश्वास हुँदैन । नजानीकन कसैको लहैलहैमा लागेर अपनाए पनि र त्यागे पनि अन्धविश्वास नै हुन्छ ।

आश्चर्य लाग्न सक्छ, यी संस्कृति र सभ्यता भन्ने विषय न कुनै व्यक्तिविशेषले बनाए, न त यो यत्तिकै बन्यो । संस्कार र संस्कृतिको विकास मानिसकै कृयाकलापबाट भएको हो । मानिस र समाजमा प्रचलित धर्म, परम्परा, प्रथा, पद्धति, संस्कृति, सभ्यताका निर्माता मानिस नै हुन् । यसमा प्रकृतिको आधार छ, मानिसको चिन्तनको हिस्सा छ, कृयाशील कर्मको सबैभन्दा ठूलो भूमिका छ । हाम्रो समाजमा जेसुकै कार्य गर्दा पनि एकजनालाई अगुवा स्थापना गरेर गर्ने परम्परा छ । यो परम्परा संस्कृतिको रूपमा स्थापित छ । यो परम्परा कहिले सुरु भयो, कसले सुरु गरे भन्ने विषय इतिहासमा खोजेर पत्तो लाग्दैन, तर पुराणहरूमा भने ‘गणपति’ वा ‘गणनायक’ स्थापना गरी पहिले पूजा गर्ने विधि रहेको छ । चलनचल्तीमा ‘गणपति’ वा ‘गणनायक’ लाई गणेश भनिँदै आएको छ । कुनै पनि शुभकर्मको प्रारम्भ गणेश पूजनबाट हुन्छ । हामीले गर्ने सबै प्रकारका साझा–सामूहिक कार्यमा पनि आपूmहरूमध्येबाट नै कसैलाई अगुवा छान्दछौँ, मान्दछौँ उनकै नेतृत्वमा का मगर्दछौँ ।

गणेश को हुन् ? देवता हुन् । हिन्दू संस्कृतिभित्रका गणपति, सूर्य, देवी, शिव र विष्णुलाई समग्रमा सम्बोधन गरिने पञ्चदेव मध्येका एउटा देव हुन् । उनी शिव र पार्वतीका छोरा हुन् । उनको यो हात्तीसुँडे, हात्तीमुखे, हात्ती टाउके हुनुको पछाडिका कथा पनि सम्झेर भन्ने गरिन्छ । आजापूजामा गणेश/गणपतिको प्रथम पूजा हुन्छ । त्यसैले कुनै विषय प्रारम्भ हुँदा श्रीगणेश गरियो या भयो भन्ने प्रचलन पनि रहिआएको छ ।

शब्द संरचनाका हिसाबले गण + ईश = गणेश । ‘गण’ भनेको समूह–समुदाय, ‘ईश’ भनेको नेता वा स्वामी–मालिक । नाता सम्बन्धमा हेर्दा शिव र पार्वतीका कान्छो छोरा । शिवका गणका मुख्य अगुवा । त्यसैले गणेश । शिव शासक थिएनन् । शिवका आमा को हुन् ? थाहा छैन । शिव बा ? थाहा छैन । शिवको जात ? थाहा छैन । जात नै नभएकाले र आमाबा थाहा नभएकाले उनी अजन्मा, स्वयम्भु । शिवका चुलबुले कान्छो छोरा शिवको गणमा मिसिने, खेल्ने, रमाउने गरेपछि शिवका गणले उनलाई महत्व दिने नै भए, उनलाई पहिलो स्थानमा राख्ने नै भए । अन्यत्रका कुनै कथा प्रसङ्गमा नहेरीभन्दा पनि नाम, सम्बन्ध र विशेषताहरूबारे घोतलिँदा गणेशलाई यहाँ, यसरी भेटिन्छ ।

गणेशको शरीर संरचनातर्फ ध्यान दिऔँ । हात्तीको टाउको भनेपछि ठूलो टाउको भयो । ठूलो टाउको हुनु भनेको धेरै गिदी अटाउन सक्ने भन्ने स्पष्ट हुन्छ । समाजको नेता हुने भनेको अरुका विषयमा सोच्ने र काम गर्ने हो । त्यसैले नेताले धेरै कुरा सोच्न, विचार गर्न, बुझ्न, सम्झिराख्न आवश्यक पर्छ । त्यसैले ठूलो तात्पर्य धेरै कुरा सोच्न सक्ने, धेरै कुरा सम्झिरहन सक्ने भन्ने हो ।
लामो सुँढको तात्पर्य टाढाको गन्ध थाहा पाउने हो । समाजमा के भइरहेको छ भन्ने कुरा थाहा पाउने भनिएको हो । टुमुक्कको पेट भनेको अघाएको, सन्तुष्टिको प्रतिक भनिएको हो । चिम्सा परेका साना आँखा हुनु भनेको दूरदर्शी अर्थात् परसम्मको देख्न सक्ने भन्ने अर्थमा हो ।

ठूलो पेट हुनु भनेको सन्तुष्ट रहेको–म खाऊँ, मै लाऊँको आरिस नगर्ने भनिएको हो । लड्डु भनेको खाने वस्तु डल्लो पारिएको हो । समूहको, समुदायको नेता भएपछि धेरैको घरघरमा जानपर्छ । लड्डु खानुको तात्पर्य सबैका घरमा थोरै थोरै खानु भन्ने हो । गणेशको शिरमा दूबो चढाउनुको तात्पर्य जमिनमा लत्रिएका, कुल्चिएकाहरूलाई माथि राख्नु, उठाउनु, उच्च स्थान दिनु हो ।
मूसोलाई सँगै राख्नुको तात्पर्य समाजमा बिनाकारण अरुको बिगार गर्ने तत्व पनि हुन्छन्, त्यस्तालाई पनि खुला—छाडा छोड्नु हुँदैन भन्ने हो । कुकुरले बिरालोले पनि मानिसका घरमा पसेर चोरेर खाने कुरा खाएर नोक्सान गरिदिएका हुन्छन्, उनीहरूले खाने कुरा मात्र खाइदिन्छन् । तर मूसाले त नखाने कुरा पनि धुजाधुजा पारेर बिगारिदिन्छ । समाजमा यस्तो प्रवृत्ति (मुसा प्रवृत्ति) पनि हुन्छन् । यसतर्फ पनि ध्यान दिनुपर्छ । सँगै राखेपछि उसले अनावश्यक बिगार गर्न पाउँदैन भन्ने अर्थमा हो । यी कुराहरूमा ध्यान दिइयो भने नेतृत्व सफल हुन्छ । गणेशको शब्द संरचनासँगै शरीर संरचना स्मरण होस् भन्ने आसय हो । गणेशको पूजा या स्मरणबाट सिद्धि प्राप्त हुने सन्दर्भ यस्तो देखिन्छ । पूजा गर्ने, तर आसयतिर ध्यान दिइएन भने अन्धविश्वास हुन्छ । गणेशको पूजा वा स्मरणको व्यवहारिक पक्ष यस्तो देखिन्छ ।

प्रायः सबै प्राणी आआफ्नो समूहमा बस्दछन् । कहिले त्यहाँ झगडा गर्दछन् भने कहिले मिलेर रमाइलो पनि गरिरहेका हुन्छन् । हात्ती, मृग, बाँदर आदि पशुप्राणी र चराचुरुङ्गी, माहुरी, कमिला आदि कीटपतङ्गहरू समूहमा नै देखिन्छन् । पानीमा बाच्ने निश्छल माछा र डरलाग्दा गोही आदि पनि समूहमा देखिन्छन् । यी त केही उदाहरण मात्र हुन्, सृष्टिका धेरै जीवहरू गोलबथान–समूहमा हुन्छन् । कथामा मात्र नभई प्रकृतिको वास्तविकता जलचर, नभचर, भूचर आदि पशु जीवहरू समूह–झुण्डमा रहेको हामी सबैले देखे–जानेका छौँ ।

सामाजिक दृष्टिले बुझ्दा र विश्लेषण गर्दा पनि ‘गणेश’ देख्न–भेट्न सकिन्छ । मानिस यति बढी सामाजिक नहुँदै पनि शिकार गर्दा, कन्दमूल खोज्दा, वन्य प्राणीहरूसँग पौँठेजोरी खेल्नुपर्दा एकले अर्काबाट सहयोग लिन्थ्यो होला भन्ने सहज अनुमान गर्न सकिन्छ । वनचारी नै भए पनि पशु र मानवबिच भिन्नता त हुन्थ्यो नै, समूहको महत्व पनि हुन्थ्यो । मानिसहरू त्यति बेलादेखि नै समूहमा बस्ने गरेको मानवशास्त्रीय अध्ययनहरूबाट थाहा पाइन्छ । सँगै बस्ने भएपछि नियम र नेता आवश्यकता स्वाभाविकै हो । समूह–गण नाइके–अगुवा अवश्य हुन्थ्यो । ती पनि गणेश नै थिए । सन्दर्भ फरक भए पनि गणमा अगुवा हुन्थे, ती नै गणनायक, गणेश आदि हुन्थे भनेर बुझ्न गाह्रो नहोला । पूजा होस् वा सम्बोधन, पहिले अगुवाको नै हुने गर्दछ ।

पुराणका कथाहरूमा गणेशलाई प्रथम पूज्यका रूपमा राखिएका विषय पढ्न पाइन्छ । गणेशले त्यो स्थान प्राप्त गर्न शिव र पार्वतीको निर्णय, वरदान र आदेश रहेको थियो । शिवमहापुराणको कथा अनुसार स्नान कक्षमा नुहाउन गएकी पार्वतीले गणेशलाई द्वार रक्षकका रूपमा बहिर राखी ‘कसैलाई पनि भित्र पस्न नदिनू’ भनेकी थिइन्, त्यसै बिचमा शिव आइपुगे, तर गणेशले आफ्ना बाबु शिवनचिनेका गणेशले उनलाई भित्र जान दिएनन् । आफ्नै घरभित्र पस्न नदिएका गणेशको शिर शिवले काटिदिए । पार्वती स्नान गरेर बाहिर निस्केपछि शिवद्वारा गणेशको टाउको छिनाई मारिएको थाहा भएपछि शिवले गणेशको काटिएको गर्धनमा हात्तीको शिर जोडिदिएर जीवित बनाए । हात्तीको टाउको जोडिएका गणेश जीवित त भए तर उनको रूप राम्रो देखिएन । अनि, त्यसैको क्षतिपूर्तिका लागि उनलाई प्रथमपूज्यको दर्जा दिइयो र पार्वती र गणेश दुवैलाई खुसी पारियो भन्ने कथा छ । यस कथाको सारबाट पनि गणेशको प्रथम पूजाको सार बुझ्न सकिन्छ ।

अन्य कथाअनुसार सबै देवताहरूका बिचमा प्रथम पूज्य को हुने भन्ने विवाद भयो । सबै देवता यस्तो विवादमा नरहेका शिवसमक्ष पुगे र समाधानका लागि गुहारे । शिवले सबैलाई भने, ‘जसले सबैभन्दा पहिले यो संसारको परिक्रमा गरेर आउँछ, उही नै प्रथम पूज्य हुनेछ ।’ अनि, सबै देताहरू आप्mना वाहनमा सबार भएर संसारको परिक्रमा गर्न हिँडेछन् । तर, मुसा वाहन भएका गणेश भने आफ्ना आमाबा पार्वती र शिवको परिक्रमा गरेर बसेछन् । यसको कारण सोधिँदा उनले आकाशरूपी बा र पृथ्वीरूपी आमाको परिक्रमा नै सारा संसारको परिक्रमा मानेर आपूmले यसो गरेको तार्किक उत्तर दिएपछि शिव र पार्वती खुसी भएर प्रथम पूज्यको दर्जा दिएछन् र गणेश यस रूपमा पूजिन थालेछन् ।

अब चर्चा गरौँ गणशको प्रवृत्ति अर्थात् गणेश प्रवृत्तिको । बाबुआमाको वरिपरि घुमेर चाकरी पु¥याएर गणेश प्रथम पूजित भएका हुन् त ? त्यसो होइन । बरु सिक्नुपर्ने कुरा केहो भने आफ्नाबारेमा थाहा पाउन संसार भ्रमण गरिरहनै पर्दैन । आफ्ना जन्म दिने आमाबालाई हेर, उनीहरूकै वरिपरिको वास्तविक अवस्था बुझ, तिनै विषयलाई महत्व देऊ, त्यसैका आधारमा अघि बढ, अनि संसार चाहार, संसार हेर, संसार बुझ । आफ्नो परिवेश, आधार, परम्पराबारे केही अत्तोपत्तो नपाई आफ्नो नजिककालाई आँखा चिम्लेर अन्यत्र बुझेर मात्र केही काम लाग्दैन भन्ने सन्देश गणेश प्रवृत्ति हो । अहिले हाम्रो विकासको, शिक्षाको, सामाजिक रूपान्तरणको अवस्था कस्तो छ ? अमेरिका, युरोप, जापान र यस्तै विकसित देशहरू हेरेर पछुताउने खालको छ । ठूला, राम्रा र तीव्र गतिका वाहनमा चढेर विश्वविज्ञ कहलिने चलन छ । तर नेपालको धरातलीय यथार्थ, यहाँको प्रकृति, प्रवृत्ति, मनोविज्ञानबारे थाहा नै नपाई नक्कल गर्न खोज्दा नै हामी नेपालीहरू न यताका, न उताका भएका छौँ । यहाँ पनि गणेश र गणेश प्रवृत्तिबाट शिक्षा लिन आवश्यक छ ।

विगतका इतिहास र परम्परालाई विकृत पारेर आफूलाई लाभान्वित गर्नुभन्दा अनावश्यक र नकारात्मक भाष्यमा सुधार ल्याई समसामयिक एवं जीवनोपयोगी बनाउनु बुद्धिमानी हुनेछ । कुनै वस्तु वा कथा अन्धविश्वास हुँदैन, ती वस्तु र कथा प्रतिको बुझाइ, ती प्रतिको दृष्टिकोण महत्वपूर्ण हुन्छ । हरेक मानिसले दृष्टिकोण र व्यवहार फेर्दा सकारात्मक सामाजिक रूपान्तरण सम्भव छ । ‘गणेश प्रवृत्ति’ बाट सकारात्मक शिक्षा लिऊँ । (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)