सुनको लोभमा एकै घरका दुई बालिकाको हत्या, दुई किशोरी पक्राउ

मेचीकाली संवाददाता

२६ चैत्र २०७९, आईतवार
240 shares

रमेश पराजुली

बुटवल । रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका–३ को रन्मा गाउँमा गत बिहीबार मृत फेला परेका दुई बालिका (रिना र कालिमाया बुढामगर) को हत्या भएको खुलेको छ । ती बालिकाहरुले नाक र कानमा लगाएका सुनका गहना लुट्नका लागि स्थानीय दुई किशोरीले बालिकाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

बालिकाको हत्यामा संलग्न रहेको आरोपमा १४ र १५ वर्षका दुई किशारीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम (पूर्व) का सुचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले जानकारी दिए । हत्या गरेको आशंकामा स्थानिय ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरीएको प्रहरीले जनाएको छ । मृतक बालिका रिना १० र कालिमाया ८ वर्षका हुन् ।

‘हत्या भएका दुई बालिकाले नाक र कानमा सुनका गहना लगाएका रहेछन्’, ‘प्रहरी निरीक्षक खत्रीले भने’, ‘घरबाट खेतमा मल ओसार्दै गरेका किशोरीहरूले एकान्त जंगलमा बालिकालाई भेटेपछि त्यही गहना खोस्नकै लागी हत्या गरी भीरबाट खसालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बालिकाको हत्या गर्नुपर्ने अरु कारण भेटिएन ।’

हत्यापछि आरोपित दुई किशोरीले शव खेतबारीकै खोल्सामा लुकाएका थिए। बेलुकी झिसमिसे अँध्यारो भएपछि डोकोमा शव लगेर एक किलोमिटर टाढोको भिरबाट फालिदिएको खुलेको छ । हत्याको आरोपमा पक्राउ परेका दुई किशोरी पनि स्थानीय हुन् । ती किशोरी र मृतक बालिकाहरुको पहिलेदेखि नै चिनजान रहेको प्रहरी निरीक्षक खत्रीले बताए । उनिहरुले स्थानिय विद्यालयमा पढ्दै आएका थिए ।

गत बुधबार बिहान सिस्नो टिप्न भनी घरबाट निस्किएका दुई बहिनी (रिना र कालिमाया ) साँझसम्म घर नफर्किएपछि परिवारले खोजी गर्दा बिहीबार बिहान घर नजिकैको झुपा खोला भीरमा मृत फेला परेका थिए । मृतक बालिकाले नाक र कानमा लगाएका सुनका गहना फुकालिएको अवस्थामा भेटिएपछि प्रहरीले गहना लुट्ने योजनाले हत्या गरिएको हुनसक्ने अनुमान गरी अनुसन्धान अघि बढाएको थियो ।

दुई बालिका मृत फेला परेपछि जिल्ला प्रहरी प्रमुख डीएसपी अञ्जना श्रेष्ठसहितको अनुसन्धान टोलीले घटनास्थलमै पुगेर अनुसन्धान गरेको थियो । रिना र कालीमायाको हत्यापछि उनीहरूले गहना लगे पनि घरमा नलगी बाहिरै लुकाएको प्रहरीले जनाएको छ। उनीहरू पक्राउ परेपछि सुन लुकाएको ठाउँको कुरा भनेका थिए। उनीहरूले नै लुकाएको सुन देखाएपछि फेला परेको थियो ।