पाल्पा दरबार आसपासका घरटहरा हटाइयो

मेचीकाली संवाददाता

६ बैशाख २०८०, बुधबार
217 shares

पाल्पा । पाल्पा सदरमुकाम तानसेनस्थित पाल्पा दरबार आसपास र मूलढोकाको दायाँबायाँ रहेका घरटहरा हटाइएको छ । पाल्पा दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न र पर्यटकीय स्थलको रुपमा विकास गर्न त्यस आसपास रहेका घरटहरा हटाइएको हो ।

तानसेन नगरपालिकाले बुधबार ५७ वटा पसल तथा घरटहरामा डोजर चलाएको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिए । ‘पाल्पा दरबारलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न र पर्यटकीय स्थलको रुपमा विकास गर्न सूचना निकालेर घरटहरा हटाएका हौँ ।’ उनले भने । नगरपालिकाले व्यापारी तथा व्यवसायीहरुलाई ३५ दिने सूचना प्रकाशन गरेर पसल हटाउन भनेको थियो । सोही अनुसार मंगलबार ३५ दिन पुगेपछि बुधबार घरटहरा हटाइएको हो ।

पुरातत्व विभागले गत माघ १० गते पाल्पा दरबारलाई सौन्दर्यीकरण तथा थप विकासका लागि तानसेन नगरपालिकालाई पत्र पठाएको थियो । घरटहरा हटाएपछि तत्कालै त्यस स्थानमा सरसफाई गर्ने र दरबार परिसरको ऐतिहासिकता कायम गरि सुन्दर बनाउने नगरपालिकाको योजना रहेको छ । तानसेन नगरपालीकाको स्वामित्वमा रहेको जग्गामा नगरपालिका तथा अन्य सामाजिक संस्थाहरुले सटर भाडामा लगाएका थिए ।

व्यापारी तथा व्यवसायीहरुले भने नगरपालिकाले आफूलाई अन्याय गरेको गुनासो गरेका छन् । ३५ दिने सूचनाका आधारमा आफूहरुलाई विस्थापित गरेको उनीहरुको भनाई छ । आफ्नै अन्य विकल्प नभएका ब्यापारीहरुलाई अन्यत्र सटरको व्यवस्था गर्न सकिने नगरपालिकाका प्रवक्ता कार्कीले बताए ।

विस्थापित हुने अबस्थामा पुगेका व्यापारीहरुलाई तानसेनकै नारायणस्थानको रेडक्रस भवन नजिकैका ९ वटा सटरमा व्यवस्थापन गर्न सकिने नगरपालिकाले जनाएको छ । महाचैत्य विहारको अगाडी रहेको खाली स्थानमा सटर निर्माण गरेमा त्यसमा पनि ६ महिना सम्म ५० प्रतिशत राजश्व छुट दिईने नगरपालिकाले जनाएको छ ।