जिल्ला प्रहरी कार्यालय कपिलवस्तुद्वारा मासिक प्रगति विवरण सार्वजनिक

मेचीकाली संवाददाता

६ बैशाख २०८०, बुधबार
136 shares

पार्वती आचार्य

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मासिक प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्लाका पत्रकारहरु संगको भेटघाट कार्यक्रममा ०७९ सालको चैत महिनामा भए गरेका कार्यक्रमहरुलाई एक कार्यक्रमको आयोजना गरि मासिक प्रगती विवरण सार्वजनिक गरिएको हो ।

यसैगरी अपराध अनुसन्धान तर्फ १२ जना फरार प्रतिवादी पक्राउ गरी १९ बर्ष ७ महिना २५ दिनको जरिवाना रु १ लाख १७ हजार ८ सय ७७ रुपैया असुली गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले बताउनु भयो ।

यस्तै ३९ वटा मुद्दा दर्ता भएकोमा २५ वटा फर्छौट भएका छन् भने १४ वटा प्रक्रियामा रहेका छन् । अवैद्य भन्सार राजस्व तर्फ सवारी साधन , लत्ता कपडा , काठ र अन्य सामान गरी रु. १७ लाख ६१ हजार ४ सय १५ रुपैंया असुली भएको प्रहरी उपरीक्षक बस्नेतले बताउनु भयो ।

लागू औषध तर्फ ब्राउन सुगर १२ ग्राम २ सय मिलिग्राम बरामद भएको छ जसमा १० जना नागरिकहरुलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडी बढाईएको छ ।

यसैगरी शिवराज नगरपालिका ६ का २८ बर्षीय डिलिप कुमार चौधरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ०७९ चैत १ गते पक्राउ गरी अनुसन्धानको क्रममा चैत २६ गते जिल्ला अदालतको थुनछेकको बहसको आदेशले पुर्पक्षकालागि थुनामा राख्ने आदेश भएको हुँदा हाल पुर्पक्षकालागि कारागार कार्यालय रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यसैगरी बुद्धभूमि नगरपालिका १ पत्थरकोट स्थित बाबाकुटी टोल बस्ने ५५ बर्षीय नारायण केसीलाई आफ्नै छोरा जिवन केसीले ०७९ चैत ११ गते काठको चिरपट दाउराले टाउकोमा हानी हत्या गरेको आरोपमा पक्राउ गरि अनुसन्धान भैरहेको छ ।

यस्तै कार्यक्रममा ०७९ चैत महिनामा भएका उपलब्धि मुलक कार्यक्रमहरु वडा प्रहरी कार्यालय चन्द्रौटामा ट्रष्ट निर्माण कार्य भैरहेको , ईलाका प्रहरी कार्यालय गणेशपुरमा शुद्ध पिउनेपानी व्यवस्थापनको तयारी र व्यारेक मर्मत कार्य भैरहेको छ । जिल्ला प्रहरी कार्यालयको मर्मत कार्य सम्पन्न , कार्यालय परिसर भित्रको गोलघरमा ४ वटा पंखा जडान गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी शैलेश्वरी बोहराले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालयको आगामी कार्ययोजना ः भन्सार नतिरी भारतीय नम्बर प्लेटका सवारी साधनहरु चलाउने प्रबृत्तिलाई निरुत्साहित गर्ने , फरार प्रतिवादीहरुको खोजी कार्यलाई पहिलो निरन्तरता दिईने , समुदाय लक्षित जनचेतनामूलक कार्यक्रमहरुलाई प्रभावकारी ढंगबाट संचालन गर्ने लगाएतका कार्ययोजनाहरु रहेको प्रहरी उपरीक्षक बस्नेतले बताउनु भयो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य प्रहरी निरीक्षकहरु र जिल्लाका क्रियासिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।