जंगलमा लागेको आगो निभाउन जाँदा गुल्मीमा एक जनाको मृत्यु, एक जना घाइते

मेचीकाली संवाददाता

८ बैशाख २०८०, शुक्रबार
205 shares

बुटवल । गुल्मीमा घर नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

आगो निभाउने क्रममा गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका–३ का १३ वर्षीय दीपक मुखियाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । पाल्पामा उपचार गराइरहेका कुमालको शुक्रवार बिहान मृत्यु भएको हो ।

आगो निभाउने क्रममा सोही ठाउँका ५५ वर्षीय धनबहादुर कुँवर गम्भीर घाइते भएका छन् । घाइते कुँवरलाई थप उपचारका लागि बुटवल ल्याइएको प्रहरीले जनाएको छ । बिहीबार साँझ धुर्कोट गाउँपालिका–३ को बर्दवास जंगलमा लागेको आगो निभाउन गएका बेला उनीहरु जलेर गम्भीर घाइते भएका थिए ।

जंगलमा लागेको आगो निभाउन प्रहरी र स्थानीय खटिएपनि आगो नियन्त्रणमा आउन नसकेको स्थानियको भनाई छ । धुर्कोट गाउँपालिका–७ वाग्लाका बिभिन्न जंगलमा पनि आगलागी भइरहेको वडाध्यक्ष लिलाबहादुर खनालले जानकारी दिए । यहाँ पनि केही घर आगलागीको जोखिममा रहेका छन् ।

बिहीबार दिउँसो इस्मा गाउँपालिका–५ पटातीस्थित चापटारी सामुदायिक वनमा लागेको आगो बस्तीमा पुग्दा २ जनाको घर गोठ जलेर नष्ट भएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए । आगलागीबाट स्थानिय रुद्रबहादुर कुमाल र शिवलाल कुमालको घर र गोठ जलेर पूर्णरुपमा नस्ट भएको छ । पछिल्लो समयमा जिल्लाका विभिन्न वन जंगलहरुमा आगलागीका घटना बढिरहेका छन् ।
डिभिजन वन कार्यालय गुल्मीकी सूचना अधिकारी मुना शर्माका अनुसार यतिबेला जिल्लाका ३९ सामुदायिक वनमा डढेलो लागेको छ । सबैभन्दा बढी इस्मा गाउँपालिकाको सामुदायिक वनमा आगलागी भइरहेको शर्माले बताइन् । जिल्लामा चार सय ५९ सामुदायिक वन रहेका छन् । सुक्खा मौसम र हावाहुरी बढ्दै गएकाले दैनिक वनहरूमा डढेलो लाग्ने क्रम वृद्धि हुँदै गएको छ । गुल्मीमा रेसुंगा नगरपालिकाको रेसुंगा क्षेत्र र अर्जुन क्षेत्र, धुर्कोट गाउँपालिकाका तथा मुसिकोट नगरपालिका विभिन्न क्षेत्र आगलागीको जोखिममा रहेका छन् ।

गुल्मीमा पछिल्लो तीन महिनामा मात्रै आगलागीमा परेर ४ जनाको मृत्यु भएको छ । केही दिनअघि जंगलमा लागेको आगोका कारण सत्यवती गाउँपालिका–४ लिम्घाका ७५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको थियो । स्थानीय जंगलमा लागेको आगोले जलेर घाइते भएका शाहीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

त्यस्तै, केही समयअगाडि मदाने गाउँपालिका–६ पुर्कोट दहका ८३ वर्षीय ज्ञानबहादुर जिसीको घरमा आगलागी हुँदा घरमा सुतिरहेका उनको जलेर मृत्यु भएको थियो । भने इस्मा गाउँपालिका–१ की पवित्रा खत्रीको पनि घरमा आगलागी हुँदा उनको मृत्यु भएको थियो ।