बुटवल । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ३३ जना घाइते भएका छन् । दुर्घटनामा एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट ३३ जनाको उद्वार गरी उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । मृतक र घाइतेको पहिचान खुलेको छैन । आइतबार बिहान बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बर बस बुटवल–पाल्पा सडकखण्ड अन्तरगत पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त बस सडकबाट करिब २० मिटर तल खसेर भीरमा अड्किएको अवस्थामा छ । बसमा सवार सबै यात्रुको उद्वार भइसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना पछि जिल्ला प्रहरी कार्यालय पाल्पा, ट्राफिक प्रहरी र दोभान प्रहरी चौकीबाट खटिएका प्रहरी र स्थानीयबासीले घाइतेहरूको उद्वार गरेका थिए ।