लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरी र ३ मन्त्रीले लिए सपथ

मेचीकाली संवाददाता

१५ बैशाख २०८०, शुक्रबार
404 shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनियताको सपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेशप्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई सपथ गराएका हुन् ।

यस्तै, मुख्यमन्त्री चौधरीले सानो मन्त्रिमण्डल पनि गठन गरेका छन् । नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी मन्त्री बनेका छन् । उनीहरू बिना विभागीय मन्त्री बनेका हुन् ।

मास्की दाङको क्षेत्र नम्बर ३ (२), पाण्डे रुपेन्देहीको क्षेत्र नम्बर ३ (१) र चौधरी बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका हुन् ।

उनीहरु तीनै जनाले बिना विभागीय मन्त्रीको रुपमा सपथ लिएका छन् । मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिने र थप मन्त्री बनाउनेबारे पछि छलफल गरी निर्णयमा पुग्ने तयारी छ ।

बिहीबार प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । चौधरी लुम्बिनीको चौथो मुख्यमन्त्री बनेका हुन् । उनलाई लुम्बिनी प्रदेशका आठ दलका ५२ र एकजना स्वतन्त्र सांसदको समर्थन रहेको छ । यहाँ नेकपा (एमाले) र राप्रपा मात्र प्रतिपक्षमा बसेका छन् । शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री लिला गिरीसहित गठबन्धनमा रहेका राजनीतिक दलका नेता कार्यकर्ता सहभागी थिए ।