भैरहवाबाट काठमाडौं उडेको श्री एअरलाइन्सको जहाज बीचबाटै फर्कियो

मेचीकाली संवाददाता

२५ बैशाख २०८०, सोमबार
218 shares

बुटवल । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको जहाज बीचबाटै भैरहवा फर्किएको छ । सोमबार बिहान ९ः४० मा काठमाडौंका लागि उडेको जहाज केहीबेरमै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएर आकस्मिक अवतरण गरेको हो ।

उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको उक्त जहाजमा समस्या देखिएपछि भैरहवा नै फर्किएको गौतमबुद्ध विमानस्थलका जनरल म्यानेजर हंशराज पाण्डेले जानकारी दिए । विमानमा रहेका यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन् ।

आकस्मिक अवतरणपछि जहाजको पाङ्ग्रा लक भएको छ । पाङ्ग्रा लक भएपछि धावनमार्गबाट जहाज गुड्न सकेको छैन । जहाज रनवेमै रहेकाले उडान अवतरण प्रभावित भएको छ ।

जसका कारण काठमाडौंबाट भैरहवाका लागि उडेको यति एअरलाइन्सको अर्को जहाज काठमाडौं नै फर्किएको छ । धावनमार्गबाट जहाज हटाएपछि मात्रै गौतमबुद्ध विमानस्थलबाट अरु उडान र अवतरण सुरु हुनेछ ।