मायादेवी साझेदारी बनद्वारा बन अतिक्रमण नियन्त्ररण सम्बन्धि जनचेतना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन

मेचीकाली संवाददाता

२६ बैशाख २०८०, मंगलवार
611 shares

पार्वती आचार्य

कपिलवस्तु । मायादेवी साझेदारी बन उपभोक्ता समूहले बन अतिक्रमण नियन्त्ररण सम्बन्धि जनचेतना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । बन सम्बद्र्धन प्रणालीमा आधारित कार्ययोजना अनुसार बन क्षेत्र भित्रको अतिक्रमण नियन्त्ररणको लागि कार्यक्रम सञ्चालन गरिएको हो । जंगलसंग जोडिएका प्रत्येक गाउँ बस्तीहरुमा यो कार्यक्रम सञ्चालन गरिएको मायादेवी साझेदारी बन उपभोक्ता समूहका अध्यक्ष दिनेश जयसवालले जानकारी दिए ।

बनलाई नेपाल अधिराज्यको नमूना बन बनाउने सोंच भएको बताउँदै स्थानिय तह र उपभोक्ताहरुबाट नै साथ सहयोगको खाँचो रहेको अध्यक्ष जयसवालको दावी छ । स्थानिय तह, उपभोक्त समूह, सुरक्षा निकाय, समाजसेवी बुद्धीजिवीहरुलाई बनप्रति सकारात्मक सोंचका साथ अगाडी बढ्नु उनले आग्रह गरे ।

हाल साझेदारी बनले यहि बैशाख २० गतेदेखि बन क्षेत्र भित्रको सोनपुर, दानापुर, बिरपुर, बहादुरपुर, भावपुरका गाउँमा पुगेर ७/७ जनाको उपसमिती गठन गरी चोरी तस्करी, आगलागि नियन्त्ररण, अतिक्रमण नियन्त्ररण लगायतका बन संरक्षण गर्नका लागि समितीहरुलाई प्रशिक्षण दिएको अध्यक्ष जयसवालले बताए ।

उक्त जनचेतना कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, कार्यसमितीका सदस्यहरु, बनका कर्मचारीहरु र नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा जनसमुदायको सौहाद्रपूर्ण सहभागिता रहेको साझेदारी बनका उपाध्यक्ष शैलेन्द्र यादवले जानकारी दिए । बाणगंगा नगरपालिका, शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाका १७ वटा वडाका २२ हजार २३९ घरधुरीका १ लाख ३५ हजार २९५ उपभोक्ता रहेका छन् ।

साझेदारीमा यस भन्दा अगाडीको समितीले उपभोक्ता तथा जनता मुखी काम नगरेको र उपभोक्ताहरुले सहज रुपमा सेवा प्राप्त गर्न नपाएको गुनासो समेत गरेका छन् । नयाँ नेतृत्व आएसंगै उक्त क्षेत्रका उपभोक्ताहरुले आफ्ना मनका दुखेसाहरु सहित अध्यक्ष समक्ष जिज्ञासाहरु प्रत्येक्ष राख्न पाउँदा खुशी व्यक्त गरेका छन् । यो कार्यक्रम सञ्चालनले दैनिक हुने चोरी तस्करी नियन्त्ररण हुने सहायक बन अधिकृत शिव बहादुर केसीले बिश्वास व्यक्त गरे ।