एकेडेमीले पैसा नदिएको भुषालको गुनासो

मेचीकाली संवाददाता

२६ बैशाख २०८०, मंगलवार
196 shares

बुटवल । बुटवल उपमहानगरपालिका–४ स्थित ह्वाइट रोज एकेडेमी बोर्डिङ स्कुलका सञ्चालकले बुटवल–६ निवासी रोमलाल भुषालसँगबाट लगेको ७० लाख रुपैयाँ नतिरेको गुनासो गरेका छन् ।

भुसालले २०७५ साल पुसदेखि बैशाख महिनासम्ममा पटक–पटक नगद र चेकमार्फत एकेडमीका सञ्चालक विनोद ज्ञवालीलाई ७० लाख रुपैयाँ दिएका थिए । आफूलाई एकेडेमीको शेयर सदस्य बनाउने भन्दै भवन निर्माणको लागि रकम लगेको तर हालसम्म पनि उक्त रकम भुक्तानी नगरेको कारण अन्यायमा परेको भुषालले बताएका छन् ।

भुषालले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी एकेडमीबाट १० लाख रुपैयाँ मात्रै फिर्ता पाएको तर अन्य रकम ५ वर्षसम्म पनि नपाएको भन्दै आफू अन्यायमा परेको गुनासो गरेका हुन । ज्ञवालीले स्कुलको शेयर सदस्य बनाउन नखोजेको र पटक–पटक रकम दिने भनेर भाका सार्दै आएको र हाल ज्ञवाली सम्पर्कमा नआएपछि आफू मिडियामा आउन बाध्य भएको बताएका छन् । एकेडमीका सञ्चालक ज्ञवाली र उनीसँगै सञ्चालक रहेकी संगीतादेवी शर्माले अहिले विद्यालय सञ्चालन गरिरहेकी छिन् ।

एकेडेमीका सहायक प्रधानाध्यापक तथा सञ्चालकसमेत रहेकी संगीता शर्माले आफ्नो विद्यालयले भुषालबाट ७० लाख रकम लिएको र त्योबापत केही व्याजसमेत दिएको बताइन् । अब भुसाललाई ५१ लाख रुपैयाँ दिन बाँकी रहेको भन्दै विस्तारै तिर्ने बताइन् । भुसालबाट लिएको रकममध्ये हालसम्म २२ लाख रुपैयाँ जति भुक्तानी गरेको शर्माको भनाइ छ । पीडित भनिएका भुषालसँगै सञ्चालकद्वय विनोद ज्ञवाली र संगीतादेवी शर्माले दुईवटा तमसुख गरी कुल ६३ लाख ३५ हजार रुपैयाँ लिएको तमसुक गरेका छन् । उक्त तमसुक वडा कार्यालयबाट समेत प्रमाणित गरिएको छ ।