१० किलो लागुऔषधसहित दुई महिला पक्राउ

मेचीकाली संवाददाता

२७ बैशाख २०८०, बुधबार
246 shares

सुनिल आचार्य

कपिलवस्तु । ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलिले १० किलो लागूऔषध सहित २ जना महिलालाई पक्राउ गरेको छ । मंगलबार कृष्णनगरबाट खटिएको प्रहरी गस्ति टोलीले कृष्णनगर नगरपालिका २ यात्रुगेट स्थित नेपालबाट भारततर्फ जाँदै गरेका महिलाहरुलाई शंका लागेपछि जाँच गर्ने क्रममा सामाग्री सहित प्रहरीले पक्राउ गरेको हो ।

धादिङ जिल्ला खनियाबास गाउँपालिका ५ बस्ने ४९ बर्षीया संगिता तामाङ र सोही स्थानमा बस्ने ५९ बर्षीया सेती तामाङलाई चेकजाँच गर्दा शरिरमा लुकाई छिपाई राखेको लागु औषध (चरेश) जस्तो देखिने संगिता तामाङको साथबाट ५ के.जी. लागुऔषध र भिभो मोबाईल थान १ फेला परेको छ ।

यस्तै सेती तामाङको साथबाट ५ के.जी लागु औषध र भारतिय रुपैया ५ सयका ५० वटा गरी जम्मा रु २५ हजार रुपैंया र ओप्पो कम्पनीको मोबाईल थान १ र सादा मोबाईल १ थान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले बताए ।

उक्त लागु औषध (चरेश), नगद र मोबाईल समेत बरामद गरी दुबै महिलामाथि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।