अर्घाखाँचीमा आगलागीबाट घर जोगाउन खोज्दा जलेका ४ जनाको मृत्यु

मेचीकाली संवाददाता

२७ बैशाख २०८०, बुधबार
158 shares

बुटवल । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगलागीबाट घर जोगाउन खोज्दा जलेर गम्भीर घाइते भएका ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७२ वर्षीय पिताम्बर बेलबासे, ५५ वर्षीय पदम बेलबासे, ३६ वर्षीय माधव बेलबासे, र ५२ वर्षीय घनश्याम बेलबासे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिए । सोही घटनामा घाइते भएकी २६ वर्षीया अस्मिता बेलबासेको पाल्पास्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

मंगलबार भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोला किनारको जंगलमा लागेको आगो बस्तीमा पुगेर घरमा सल्किएपछि निभाउने क्रममा जलेर ५ जना गम्भीर घाइते भएका थिए । जंगलमा लागेको आगो बस्तीमा पसेर पदम बेलबासेको घरमा सल्किएको थियो । सोही घरमा सल्किएको आगो निभाउने क्रममा जलेर ५ जना गम्भीर घाइते भएपछि जिल्ला अस्पताल सन्धिखर्कमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको थियो ।

पाल्पामा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा पिताम्बर र पदमको गएराति बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताए । थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएका माधव र घनश्यामको बुधबार बिहान ७ बजेतिर मृत्यु भएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।