प्रेस चौतारी नेपाल पाल्पा शाखाले २४ औ स्थापना दिवश मनायो

मेचीकाली संवाददाता

२८ बैशाख २०८०, बिहीबार
253 shares


पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले शाखाको २४ औ स्थापना दिवशका अवसरमा विभिन्न शिर्षकका अक्षयकोष पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने पत्रकारहरुको नाम घोषणा तथा शुभकामना आदान प्रदान कार्यक्रम गरी मनाइएको छ ।

स्थापना दिवसका अवसरमा संगठनमा विभिन्न अक्षयकोष दाताले स्थापना गरिदिएको अक्षयकोष पत्रकारिता पुरस्कार छनोट समितिको सिफारिस अनुसार नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य ओमबहादुर घर्तीबाट स्थापना भएको भद्रबहादुर स्मृति कृषि पत्रकारिता पुरस्कार २०८० बाट अन्नपूर्ण दैनिकमा आबद्ध कृष्ण प्रसाद पोखरेल, होटल व्यवसायी द्धारिकप्रसाद नेपाबाट स्थापना भएको सितादेवी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०८० बाट मेचिकाली राष्ट्रिय दैनिक पत्रिकामा आबद्ध नेत्र गैरे र सामुदायिक रेडियो मुक्तिनाथमा आबद्ध भुवन रायमाझीलाई प्रदान गर्ने भएको छ ।

यस्तै नेकपा एमाले जिल्ला कमिटी सदस्य विष्णुबहादुर कार्कीबाट स्थापना भएको गीता स्मृति शिक्षा पत्रकारिता पुरस्कार २०८० बाट सामुदायिक रेडियो मदनपोखरामा आबद्ध रीमा सोमै, नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष राजेशकुमार अर्यालबाट स्थापना भएको रेडियो पत्रकारिता पुरस्कार २०८० बाट माडी भ्यू डटकम र सामुदायिक रेडियो मदनपोखरामा आबद्ध बिजयकुमार वौडेल , लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठबाट स्थापना भएको शेषकुमारी लोकप्रसाद स्मृति शिक्षा पत्रकारिता पुरस्कार २०८० बाट पृथ्वी टेलिभिजन रामपुरमा आबद्ध कृष्ण पौडेललाई दिने भएको छ ।

यसका साथै सामाजिक अभियन्ता विनोद श्रेष्ठबाट स्थापना भएको पुतली रुपनारायण स्मृति सामाजिक विकास पत्रकारिता पुरस्कार २०८० बाट बोली खवर डककम र सामुदायिक रेडियो रामपुरमा आबद्ध बन्दना पोखरेल र नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रामबहादुर राउतबाट स्थापना भएको तुलसा तुलबहादुर स्मृित सामाजिक विकास पत्रकारिता पुरस्कार २०८० बाट फरवार्ड खवर डटकममा आबद्ध हरिबहादुर विक “सुभाष” लाई वितरण गर्ने घोषणा गरिएको निर्वतमान अध्यक्ष तथा छनोट समितिका संयोजक राजेन्द्र लिगलले जानकारी दिए । घोषणा गरिएको पुरस्कार आगामी जेष्ठ महिनामा विशेष दिन पारेर वितरण गरिने संयोजक लिगलले बताए ।

कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले २४ औं स्थापना दिवसका अवसरमा प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले पत्रकारिताको मर्म भावना, नैतिक मुल्य मान्यतामा रहेर सत्य, तथ्य र निष्पक्ष रुपमा काम गर्नुपर्ने बताए ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पत्रकार भनेको समाजको ऐना भएकोले सत्य ,तथ्य, सत्य, आधारित भएर काम गर्नुपर्ने बताए ।
लुम्विनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले हरेक संघ संगठनका नाराहरु अति प्रिय हुन्छन तर काम भने ठिक विपरित गर्छन, तर प्रेश चौतारीले नारा अनुसारको काम गर्न अनुरोध गरे । प्रदेश सभासद सारुले सोही अवसरमा आफ्नो स्वर्गीय बुबा जंग बहादुर सारुको स्मृतिमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्नेगरी २५ हजार रुपैयाको अक्षयकोषमा स्थापना गर्ने घोषणा समेत गरे ।

प्रेस चौतारीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमलराज तिमिल्सेनाले स्थापनाको मर्म अनुसारनै प्रेस चोतारी पाल्पा क्रियाशील रहेको बताए । संस्थापक अध्यक्ष केवशराज नेपालले पछिल्लो समय संस्थाका गतिविधी नियमित रुपमा संचालन भएको, चौतारी सम्बद्ध पत्रकारहरु लाई गोलवन्द गरी परिचालन गरेको बताए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले चौतारीका गतिविधी तथा सक्रियताबाट अन्य संघसंस्था र संगठनले सिक्नु पर्ने अवस्था आएको बताए । नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्यालले अहिले खोजी पत्रकारिता हराउदै गएकोले खोजी पत्रकारीता लाई मनन् गरेर काम गर्न पत्रकारहरु लाई अनुरोध गरे ।

प्रेस सेन्टर पाल्पाका कोषाध्यक्ष कमल अधिकारीले पत्रकारिता पेशामा बिक्ने र टिक्ने पत्रकारहरुको उत्पादनका लागि क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । प्रेस चौतारी तानसेन नगर कमिटीका अध्यक्ष गुणवती केसीले समय अनुसार संगठनले क्षमता विकासका कार्यक्रम सञ्चालनलाई जोड दिनुपर्ने बताइन् । शाखा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव सन्तोष ज्ञवालीको संचालनमा भएको हो ।