राष्ट्रिय पुरुष बिच भलिबलको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश भिड्ने

मेचीकाली संवाददाता

२८ बैशाख २०८०, बिहीबार
286 shares

पाल्पा । पाल्पाको रानीमहलमा बिहीबारबाट सुरु हुने राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच पहिलो खेल हुने भएको छ ।


बुधबार राती अबेर गरिएको लक्की ’ड्र’ अनुसार प्रतियोगिताको उद्घाटन खेलमा समूह ए अन्तर्गत आर्मी र लुम्बिनी भिड्ने पक्का भएको हो । पाल्पाको रानीमहल परिसरमा बिहीबार एक कार्यक्रमका बीच दिउँसो एक बजे प्रतियोगिताको औपचारिक उद्घाटन खेल हुनेछ । बिहिबार नै सहआयोजक पाल्पा भलिवल संघको टिम र गण्डकी प्रदेश बीच अर्को खेल हुनेछ । यसैगरी लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय प्रशिक्षक लाक्षिवा गौतमले जानकारी दिए ।


प्रतियोगितामा सहभागी १० टिमलाई चार समूहमा विभाजन गरिएको छ । कोशी प्रदेश बाहेक अन्य ६ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरि १० टिमले प्रतियोगितामा नाम दर्ता गराएका छन् । समूह ‘ए’ मा आर्मी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’ मा आयोजक टिम पाल्पा, गण्डकी र बागमती, समूह ‘सी’ मा सशस्त्र प्रहरी, मधेश प्रदेश र समूह ‘डी’ मा प्रहरी र कर्णाली परेका छन् ।
समूह ‘सी’ र ‘डी’ परेका दुवै टिम सोझै क्वार्टरफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो र दोस्रो दिन समूह चरण र क्वार्टरफाइनलका खेल हुनेछन् । शनिबार अन्तिम दिन सेमिफाइनल र फाइनल अन्तर्गतका खेलहरु हुनेछन् ।
पर्यटकीय क्षेत्र रानीमहलको प्रवद्र्धन र वीच भलिबलको विकासका लागि सञ्जय मेमोरियल फाउन्डेसनले गत वर्षदेखि सूरुआत गरेको प्रतियोगिताको दोस्रो संस्करण बैशाख २८, २९ र ३० गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेता टिमले १ लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफी सहित १० हजार रुपैयाँ प्राप्त गर्ने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले बताइन् ।


अघिल्लो वर्ष सञ्जय मेमोरियल प्रतिष्ठानले महिला बिच प्रतियोगिताको आयोजना गरेको थियो भने यसपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग र नेपाल भलिबल संघबाट स्वीकृतिमा आयोजित प्रतियोगिता नेपालको वीच भलिबलको विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रबद्र्धन गर्ने उद्धेश्यका साथ सञ्चालन गरिएको र आगामी वर्ष अन्तर्राष्ट्रियस्तरका खेलाडीको सहभागीतामा प्रतियोगिता गर्ने तयारी भएको समेत आयोजकले जानकारी गराए ।
यसै अवसरमा तानसेनको कैलाशनगरदेखि रानीमहलसम्मको १३ किलोमिटर दौडलाई प्रतियोगिताका रुपमा गरिएको छ । सञ्जय मेमोरियल प्रतिष्ठानले पुरस्कारको व्यवस्था समेत गरेकाले सहभागी हुनसमेत आग्रह गरिएको छ । दौडमा पाल्पाका स्थानीय सहित विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागीता रहने सह आयोजक पाल्पा भलिबल संघले जनाएको छ । दौडमा पहिलो हुनेलाई १०, दोस्रोलाई ७, तेस्रोलाई ५, सान्तवना ३ र २ हजार रुपैया“ पाउने सञ्जय मेमोरियल फाउण्डेशनकी अध्यक्ष मास्केले जानकारी दिइन् ।