परासीमा पाँच जनाले त्यागे पत्रकार महासंघको सदस्यता

मेचीकाली संवाददाता

२८ बैशाख २०८०, बिहीबार
277 shares

परासी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका पाँच जना सदस्यले सदस्यता त्याग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले संस्था शुद्धिकरण अभियान सञ्चालन गरेको छ । सोही अभियानअन्तर्गत जिल्ला शाखाले हाल पत्रकारिता क्षेत्रमा क्रियाशील नभएका र अन्य पेशालाई मुल पेशा बनाएका सदस्यहरुलाई सदस्यता त्यागको स्वघोषणा गरी संस्था शुद्धिकरणलाई सहयोग गर्न आह्वान गरेअनुसार उनीहरुले सदस्यता त्याग गरेको जिल्ला अध्यक्ष हरि शर्माले बताए ।

सदस्यता त्यागको स्वघोषणा गर्नेमा जिल्ला शाखाका पूर्वसभापतिदेखि सचिव र कार्य समिति सदस्यसमेत छ । शुद्धिकरण अभियानमा सहयोग भन्दै सदस्यता त्याग गर्नेमा पूर्वसभापति रामप्रसाद पाण्डे, पूर्वजिल्ला सचिव सञ्जय कर्ण, पूर्वकार्यसमिति सदस्य ताराचन्द्र बर्मा, उर्मिला वनिया र सुनयना चौधरी रहेका छन् । ‘महासंघलाई विशुद्ध पत्रकारिता गर्ने सदस्यहरुको मात्र संस्थाका रुपमा अघि बढाउने कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले सदस्यता त्याग गरेका छौं ।’ उनीहरुले महासंघमा बुझाएको छुट्टाछुट्टै स्वघोषणा निवेदनमा उल्लेख गरेका छन् ।

त्यसरी सदस्यता त्यागको स्वघोषणा गर्ने सदस्यले विगतमा महासंघ र जिल्लाको पत्रकारिता क्षेत्रमा पु¥याएको योगदान हेरेर जिल्ला शाखाले उनीहरुलाई मानार्थ सदस्यका रुपमा केन्द्रमा सिफारिस गर्न सकिने समेत संस्था शुद्धिकरण मापदण्ड निर्देशिकामा उल्लेख छ । जिल्लामा ८६ जना सदस्य छन् । पत्रकारिताभन्दा अन्य पेशालाई मूल पेशा बनाएका र निष्कृय रहेका केही सदस्यहरुले पनि आफूहरुले संस्था शुद्धिकरणका लागि सदस्यता त्यागको स्वघोषणा गर्ने जनाएको अध्यक्ष शर्माले बताए ।

महासंघले जारी गरेको संस्था शुद्धिकरण मापदण्ड निर्देशिकामा जनप्रतिनिधि, निजामति तथा अन्य जुन सुकै सरकारी निकायको स्थायी, अस्थायी, करार सेवामा कार्यरत (मिडियासँग सम्बन्धित सरकारी र संस्थानबाहेक) तथा तथा गैरसरकारी संस्था (सहकारी, बैंक, फाइनान्सलगायत अन्य संघसंस्था) मा पूर्णकालीन काम गर्नेको सदस्यता नवीकरण नहुने र नयाँ सदस्यता पनि प्राप्ति नहुने उल्लेख छ । त्यसैगरी मापदण्डमा महासंघको सदस्यता लिएका तर कहिले काही मात्र पत्रकारिता गर्नेको समेत सदस्यता नवीकरण नहुने उल्लेख छ ।