बाल अधिकार चेतना समूहद्धारा बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन

मेचीकाली संवाददाता

२८ बैशाख २०८०, बिहीबार
281 shares

सुनिल आचार्य

कपिलवस्तु। इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन गरेको छ । मायादेवी गाउँपालिका–१ पकडीस्थित छत्रपालि तिर्थादेवी मावि र वडा नं. १ को वडा कार्यालयको समन्वय तथा इन्सेकको सहकार्यमा बालविवाहविरुद्धको सडक नाटक प्रदर्शन र शैक्षिक सत्र २०८० को भर्ना अभियानसम्बन्धी कार्यक्रम ¥यालीसहित बर्रोहिया गाउँदेखि हुँदै पकडी चोकमा पुगेर कोणसभा गरिएको थियो ।

नाटकमा बालविवाह गर्नु अपराध हो, छोरीलाई दाईजो होइन शिक्षा दिऔँ, सानो उमेरमा विवाह नगरिदिऔँ, छोरासरह छोरीको हकको सुनिश्चितता कायम गरौंलगायतको बिषयमा नाटकमार्फत प्रस्तुत गरिएको बाल अधिकार समूहका अध्यक्ष राजकुमार धोवीले बताए ।
सडक नाटकको अवलोकन गर्दै मायादेवी गाउँपालिका १ का वडा सदस्य अब्दुल रहिमान मुसलमाले बाल अधिकार चेतना समूहले प्रस्तुत गरेको सडक नाटकमार्फत आम नागरिकहरुमा सचेतना दिने बिश्वास व्यक्त गरे । हेर्दा बाहिरी रुपमा नदेखिए पनि भित्रभित्रै बालविवाहको समस्या अथाह रहेको भन्दै यसलाई न्यूनीकरण गर्न सरोकारवालाहरु एकजुट हुन आवश्यक भएको बताए ।

मानव अधिकार समूह लुम्बिनी प्रदेशकी अध्यक्ष पुष्पा रेग्मीले बालविवाह न्यूनीकरण गर्नका लागि स्थानीयतहले बजेट विनियोजन गरी विद्यालय तथा गाउँगाउँलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । साथै भर्ना अभियानदेखि अन्तिम परीक्षासम्म विद्यालयबाट कति विद्यार्थीहरु बाहिरिएका छन् भन्ने बिषयमा गाउँपालिकाले अनुगमन गरी बिद्यार्थीहरु भर्नापश्चात विद्यालय किन गएनन् त भन्ने कारणसहितको तथ्यांक बाहिर ल्याउनुपर्ने बताइन् ।
यस्तै मानव अधिकार समूह मायादेवीका सदस्य दिलिपकुमार बरईले बालविवाहको जालोलाई तोड्न स्थानीयतहले गाउँटोलमा अभिभावकहरुलाई सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक देखिएको बताए ।

छत्रपाली तीर्थादेवी माविबाट बालअधिकार चेतना समूहले बालबालिकाहरुका लागि शिक्षाको सुनिश्चितता शैक्षिक शत्र–२०८० को भर्ना अभियानको नारासहित बर्रोहिया भित्रिगाउँ चोक हुँदै पकडी चोकमा पुगेर कोणसभा गरिएको थियो । कार्यक्रममा वडा सदस्य कान्तिदेवी बर्मा, बालअधिकार चेतना समूहका पदाधिकारीहरु, इन्सेक प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । बाल अधिकार चेतना समूहका पदाधिकारीहरु तथा नाटक समूहले आफूहरुले बालविवाह नगर्ने र बाल विवाह हुँदै छ भन्ने थाहा पाएमा रोक्नका लागि सदैव लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।