जिप्रका कपिलवस्तुमा प्रत्यक्ष अनलाईन आवेदन फर्म भरिदिने व्यवस्था

मेचीकाली संवाददाता

२८ बैशाख २०८०, बिहीबार
260 shares

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले गत चैत २२ गतेदेखि कार्यालयबाट राहदानीको सेवाग्राहीका लागि प्रत्यक्ष अनलाईन आवेदन फर्म भरिदिने व्यवस्था मिलाइएको छ ।

उक्त अवधि भन्दा पहिला सेवाग्राही स्वयमले उक्त फर्म भरी कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था रहेको थियो । बाहिरबाट राहदानी फाराम भर्दा सेवाग्राहीले दुख पाएको तथा अनावश्यक खर्चिलो भएको गुनासो आए पश्चात कार्यालयबाट निःशुल्क रुपमा फर्म भरिदिने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

सेवाग्राहीको चापलाई ध्यानमा राखी बैशाख १ गते, नयाँ वर्ष, बैशाख १८ गते (विश्व मजदुर दिवस) का दिन समेत नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्रको सेवा प्रवाह भएसंगै सेवा ग्राहीहरुले खुशी व्यक्त गरेका छन् । कार्यालयले शनिवार बाहेक अन्य सार्वजनिक विदाका दिन उल्लेखित सेवा प्रवाह गरिने विषयमा सार्वजनिक सूचना समेत जारी गरिसकेको छ ।

सेवा ग्राहीको चापलाई मध्यनजर गरी बैशाख २९ गतेदेखि बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म राहदानीको सेवा समय विस्तार गरी प्रदान गरिने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका प्रशासकिय अधिकृत निर्मल पोख्रेलले जानकारी दिए ।

कार्यालयले उक्त सेवा दुई सिफ्टमा संचालन गर्ने गरी कर्मचारी व्यवस्थापन गरेको छ । पहिलो सिफ्ट बिहान ७ बजेदेखी बिहान ११ बजे सम्म र दोस्रो सिफ्ट दिउँसो ११ बजे देखी साँझ ६ बजे सम्म रहेको छ । सेवाग्राहीको चाप व्यवस्थापन गरि एक दिनमै राहदानीको आवेदन दिन मिल्ने गरी कार्यालय समय १० देखि ५ को सीमालाई परिवर्तन गरी सेवा प्रवाहको समय विस्तार गरिएको छ । यसबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने कार्यालयको विश्वास रहेको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।

सेवाग्राहीको सुविधाको लागि राष्ट्रिय बाणिज्य बैंकको विस्तारित सेवा समेत जिल्ला प्रशासन कार्यालय भित्र नै स्थापना गर्ने गरी प्रक्रिया अगाडी बढाईएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । यसबाट राजश्व बुझाउन सेवाग्राहीले भोग्नु परेको झन्झट समेत कम हुने कार्यालयले जनाएको छ ।