आगोले जलेर मृत्यु भएकाको सामूहिक दाहसंस्कार

मेचीकाली संवाददाता

२९ बैशाख २०८०, शुक्रबार
249 shares

बुटवल । अर्घाखाँचीमा आगोले जलेर मृत्यु भएका चारजनाको एकैपटक दाहसंस्कार गरिएको छ । बिहीबार भूमिकास्थान नगरपालिका–२ ढाकाबाङस्थित बागमारे घाटमा चारजनाको एकै ठाउँमा सामूहिक दाहसंस्कार गरिएको हो । गत मंगलबार आगोले जलेर गम्भीर घाइते भएका एकै गाउँका चार जनाको मृत्युपछि यतिबेला भूमिकास्थान–२ ढाकाबाङको सिंगो गाउँ नै शोकमा डुबेको छ ।

आगलागीमा परी स्थानीय ७२ वर्षीय पिताम्बर बेलबासे, ५५ वर्षीय पदम बेलबासे, ३६ वर्षीय माधव बेलबासे र ५२ वर्षीय घनश्याम बेलबासेको उपचारका क्रममा मृत्यु भएको थियो । मृतकमध्ये पिताम्बरको उपचारका लागि काठमाडौं लैजाने क्रममा पाल्पाको रामपुरमा मृत्यु भएको हो भने पदमको चितवनको नारायणगढ नजिक पुग्दा मंगलबार राति नै मृत्यु भएको थियो । यस्तै माधव र घनश्यामको उपचारका क्रममा काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधबार बिहान मृत्यु भएको हो ।

सोही घटनामा घाइते भएकी २६ वर्षीया अस्मिता बेलबासेको पाल्पास्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । मंगलबार दिउँसो भूमिकास्थान नगरपालिका–२ तिरतिरे खोला किनारको जंगलमा लागेको आगो बस्तीमा पुगेर घरमा सल्किएपछि निभाउने क्रममा जलेर ५ जना गम्भीर घाइते भएका थिए ।

इतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको थियो । पाल्पामा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजान सिफारिस गरिएको थियो ।

मृतकका परिवारलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले तत्कालका लागि ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । यता भूमिकास्थान नगरपालिकाले पनि मृतकका घरपरिवारलाई ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख झविलाल थापाले जानकारी दिए । घाइतेको उपचारका लागि पनि आवश्यक सहयोग गर्ने उनले बताए ।