लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सुरु

बृहत् बौद्ध सर्किटको प्रवद्र्धन हुने दाबी

मेचीकाली संवाददाता

२९ बैशाख २०८०, शुक्रबार
185 shares

अमृत गिरी
लुम्बिनी । विश्वभरका पर्यटकहरुलाई बुुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निम्तोसहित दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट–२०२३ सुरु भएको छ । मार्टको बिहीबार लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेशकुमार त्रिपाठी) ले उद्घाटन गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल (नाट्टा) को संयोजनमा लुम्बिनीमा तीन दिने मार्ट सुरु भएको हो । बिहीबार बिहान मायादेवी मन्दिरमा दीप प्रज्वलन र ध्यान गरेपछि शुुभारम्भ भएको मार्टको उद्घाटन लुम्बिनीस्थित पवन प्यालेस होटलमा भएको छ ।

उद्घाटन समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तयले बुुद्धजन्मस्थल लुम्बिनीबाट भ्रमण तालिका बनाउँदै बुद्धसँग सम्बन्धित साइटहरुको समेत प्रवद्र्धन गर्न आग्रह गरे । उनले भगवान् बुुद्धले महापरिनिर्वाण हुुनअघि जीवनमा एकपटक भएपनि बुुद्धजन्मस्थल लुम्बिनी पुुग्दा पुण्य प्राप्त हुने शिक्षा दिएको प्रसङ्ग उल्लेख गर्दै विश्भरका बौद्धमार्गीहरुले जीवनमा एकपटक भएपनि लुम्बिनीमा पाइला टेक्नुपर्नेमा जोड दिए ।

बुद्धकालीन अवस्थाबाटै भ्रमण यात्रा सुरु भएको उपाध्यक्ष भिक्षुु मैत्तयले बताए । उनले लुम्बिनी प्ररेणा, शान्ति र सदभावका लागि भ्रमण गर्नुपर्ने स्थल भएको बताए । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिडका कारण सुुस्ताएको पर्यटन क्षेत्रलाई बुद्धजन्मस्थल लुम्बिनीबाट चलायमान बनाउने, बुद्ध जन्मस्थलसँग सम्बन्धित यसक्षेत्रका महत्वपूर्ण स्थलहरुको प्रवद्र्धन गर्नका लागि दोस्रो बुुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको आयोजना गरिएको बताए । उनले नेपालको लागि लुम्बिनी र बुद्ध विश्वमा परिचित स्थल भएकाले यसमार्फत विश्वभरका पर्यटकलाई निम्तो दिइएको बताए ।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव धनबहादुर ओली, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा.धनञ्जय रेग्मी, होटल एशोसियशन नेपाल (हान) का अध्यक्ष विनय शाहलगायतले बोल्दै लुम्बिनीसहित नेपालका पर्यटकीय स्थल भ्रमणका लागि निम्तो दिए । उनीहरुले पर्यटनमार्फत समृद्धिको अभियानलाई सघाउ पुराउन सकिनेमा पनि जोड दिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अधिकारीको अध्यक्षतामा बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्ट मूल आयोजक समिति गठन गरी कार्यक्रम गरिएको हो । मार्टमा नेपालसहित भारत, मलेसिया, चाइना, कोरिया, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंकालगायत देशहरूबाट २८ वटा टूर एण्ड ट्राभल कम्पनीहरु सहभागी भएका छन् ।
मार्टमा विदेशी ट्राभल÷टूर कम्पनीका प्रतिनिधीहरु, नेपाल सरकारका प्रतिनित्रिहरु, नेपाल पर्यटन बोर्डका अधिकारीहरु, नाटा सदस्य कम्पनी पर्यटन सम्बद्ध संघ÷संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता छ । शनिबारसम्म सञ्चालन हुने मार्टमा स्वदेशी तथा विदेशी विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुति सहितको सेमिनारको आयोजना गरिएको नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिए । उनले नेपालको लुम्बिनीलगायत बुद्धिष्ट सर्किटको विश्वव्यापी प्रचारप्रसारमार्फत नेपाललाई पर्यटकीय हब बनाउने बारेमा गहन छलफल र निष्कर्ष निकालिने जनाइएको छ ।

कार्यक्रममा जर्मनका विज्ञ प्रोफेसर म्याक्स डिंग, बंगलादेशका मोहोदिन हिला, एवम् अष्ट्रेलियाबाट विज्ञ किरन अजित सहभागी छन् । सम्मेलनले लुम्बिनीमा पर्यटकहरुलाई आकर्षित गर्न टेवा पुुग्ने विश्वास लिइएको छ । उद्घाटनअघि मायादेवी मन्दिर परिसरमा बरिष्ठ पुरातात्वविद् बसन्त विडारीले लुुम्बिनीको बारेमा जानकारी दिएका थिए । उक्त अवसरमा बिकास कोषका सदस्य सचिव सानुुराजा शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईसहितको उपस्थिति थियो । जर्मनका विज्ञ प्रोफेसर म्याक्स डिंगले बुद्ध जन्मस्थल र बुद्धिजमका बारेमा विभिन्न विषय समेटेर पुस्तकसमेत प्रकाशन गरेका छन् । कार्यक्रममले बुद्ध जन्मस्थल र त्यससँग सम्बन्धित क्षेत्रहरुको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुुग्ने नाटाकी लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तको भनाइ छ ।

ट्राभल कम्पनीहरुलाई लुम्बिनीलाई केन्द्रमा राखेर टुरप्याकेज निर्माणका लागि समेत सुुझावहरु दिइएको छ । साथै मार्टमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि समेत वातावरण निर्माण गर्ने विषयमा सरकारी अधिकारीहरुले प्रतिबद्धता जनाएको नाटाका लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले जानकारी दिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याएर लुम्बिनीको प्रवद्र्धनका लागि दबाब पुगोस् भनेर यो मार्ट आयोजना गरिएको अधिकारीले बताए ।