बाल अधिकार चेतना समूहद्वारा जातीय विभेदसम्बन्धी सडक नाटक प्रदर्शन

मेचीकाली संवाददाता

२९ बैशाख २०८०, शुक्रबार
312 shares

सुनिल आचार्य

कपिलवस्तु । मायादेवी गाउँपालिका–५ स्थित जनता मावि बलुहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह मायाँदेवीको आयोजना , वडा नं १ को वडा कार्यालयको समन्वय तथा इन्सेकको सहयोगमा जातिय विभेद सम्बन्धि सडक नाटक बैशाख २८ गते वडा नं. ५ को बलुहवामा प्रदर्शन गरिएको छ ।

नाटकमा समाजमा समस्याको रुपमा छुवाछुत , छुवाछुतले पार्ने असरहरु , समाधान वा उपायहरु र जातको आधारमा विभेद गर्ने जो कोहीलाई संबिधानको धारा अनुसार कानुनी कारवाही हुनुपर्ने लगाएतको बिषय बस्तु समेटिएको नाटक प्रदर्शन गरिएको थियो । उक्त नाटकमा सिप र श्रम चल्ने तर पानी नचल्ने, दलितले कुदेका मुर्ति तथा भाँडाहरु चल्ने तर दलितले छोएको खाना पानी नचल्ने लगायतका बिषयहरु समावेश गरिएको थियो ।

सडक नाटकलाई अवलोकन गर्दै मानव अधिकार समूह लुम्बिनी प्रदेश अध्यक्ष पुष्पा रेग्मीले समाजमा गहिरो रुपमा जरा फैलाएको जातिय विभेदलाई न्यूनिकरण गर्न सचेतना मूलक अभियानहरुले सहयोग पुराउने बताउनु भयो । बाल अधिकार चेतना समूह तथा श्री जनता मावि बलुहवा यस अभियानमा सक्रिय भएर लागेको भन्दै धन्यवाद दिंदै विद्यालय स्तरिय बाल अधिकार चेतना समूह मार्फत गरिने विभिन्न सन्देश मूलक कार्यक्रमहरूबाट सकारात्मक सन्देश जाने बताउनु भयो ।

मायाँदेवी गाउँपालिकामा गठित मानव अधिकार समूहका अध्यक्ष सतिष प्रसाद पाण्डेयले इन्सेकले संचालन गरेको अभियानमा आम नागरिकहरुले एक्यवद्धता जनाउन सके जातको आधारमा कसैले हिंसा भोग्न नपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा वडा नं. ५ का वडा सचिव स्याम कुमार कामतले सरकारले गर्ने कार्यलाई इन्सेकले बिद्यालयका बालबालिकाहरु मार्फत समाजमा सचेतना फैलाउने कार्य सह्रायिन भएको बताउनु भयो ।

बिद्यालयका प्रधानाध्यापक राम निवास चौहानले इन्सेकको सहयोग र सहकार्यबाट बालबालिकाहरुलाई थप सिकाई भएको र बिभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गर्दा बालबालिकाहरुमा क्षमता बृद्धि हुनु नै मुख्य उपलब्धि भएको बताउनु भयो ।

यस्तै बाल संरक्षक शिक्षक बाल किसुन चौधरीले सामाजिक समस्याको रुपमा रहेको छुवाछुतलाई न्यूनिकरण गर्न समाजरुपान्तरण हुन आवश्यक भएको बताउनु भयो । जातिय विभेद, शिक्षा, स्वास्थ्य , लैंगिक विभेद , बाल विवाह , दाईजो , वातावरण लगायतका बिषयमा अभियान सञ्चालन गर्दै आएको इन्सेकले विभिन्न सञ्जालहरू गठन गर्दै समाजलाई सचेतीकरण गर्नु आफैमा महत्वपूर्ण भएको बताउनु भयो ।

सडक नाटक बाल अधिकार चेतना समूहका सदस्य राम नरेश कहारको संयोजकत्वमा १२ जना समूहका टोलीले नाटक प्रदर्शनमा भाग लिएका थिए । कार्यक्रममा बिद्यालयका शिक्षकहरु , संचारकर्मी , बाल अधिकार चेतना समूहका सदस्यहरु , बिद्यार्थीहरु स्थानिय समाजसेवी बुद्धिजिवीहरु लगाएतको सहभागिता रहेको थियो ।