बीच भलिबलको उपाधि त्रिभुवन आर्मी क्लबलाई

मेचीकाली संवाददाता

३० बैशाख २०८०, शनिबार
415 shares

पाल्पा । राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पाल्पाको रानीमहलमा सम्पन्न प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि जितेकोे हो । यही वैशाख २८ देखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

आर्मीका दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हराए । उपाधिसहित आर्मीले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो भने उपविजेता बनेको पुलिसले एक लाख रुपैयाँको पुरस्कार प्राप्त गरेको छ ।

अर्को विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफको टिमले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो बन्यो । एपीएफले ५० हजार र कर्णालीले २५ हजार रुपैयाँ प्राप्त गर्यो । आर्मीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेर १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश गरी ५ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरी ९ टोली सहभागी थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मुख्य सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सञ्चालित प्रतियोगिता रानीमहललाई बीच भलिबलको हब बनाउने उद्देश्यका साथ गत वर्षदेखि सुरुआत गरिएको थियो । गतबर्ष महिलाहरुको राष्ट्रिय स्तरको बीच भलिबल सम्पन्न भइसकेको थियो ।

समापन समारोहका प्रमुख अतिथि प्रदेशसभा सदस्य वीरबहादुर राना, फाउन्डेसनकी अध्यक्ष निरोज मास्केलगायतले विजेता खेलाडी र टिमलाई पुरस्कृत गरेका थिए । कार्यक्रममा तानसेन नगरपालिका मेयर सन्तोषलाल श्रेष्ठ र बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले रानीमहल क्षेत्रलाई बीच भलिबलको केन्द्र बनाउने घोषणा गरेका थिए । खेलकुदमार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ सञ्जय मेमोरियल फाउन्डेसनले कार्यक्रम आयोजना गर्दै आएको फाउण्डेशनकी अध्यक्ष निरोज मास्केले बताइन् ।