बुटवलमा नक्कली मह बनाउने गिरोह सक्रिय, ७ जना भारतीय पक्राउ

मेचीकाली संवाददाता

३१ बैशाख २०८०, आईतवार
303 shares

बुटवल । बुटवलमा लामो समयदेखि नक्कली मह बनाउने काममा सक्रिय रहँदै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका ११ सिर्जनानगरमा कोठा भाडामा लिएर बसी नक्कली मह बनाउने र सक्कली महसरहको मूल्य लिएर बिक्री गर्ने समूहलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको विहार वीरपुरका ५२ वर्षीय मनिस धामी, सोही ठाउँका ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधीर धामी, २० वर्षका रविन धामी, ४८ वर्षीय अरुण धामी र २८ वर्षीय बुदुवा धामी रहेका छन् । वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार शनिबार राति बिशेष सुचनाको आधारमा पुगेको प्रहरी र जनप्रतिनिधिको संयुक्त टोलीले उनिहरुलाई नक्कली मह बनाउने सामानसहित पक्राउ गरेको हो ।

बुटवल ११ सिर्जनानगरस्थित पंकबहादुर घर्ती, कुमारी क्षेत्री, शोभा बराल र रामेश्वर मानन्धरको घरमा कोठा भाडामा लिएर बस्दै आएका उनिहरु लामो समयदेखि नक्कली मह बनाउने काममा सक्रिय रहँदै आएको प्रहरी निरीक्षक पौडेले बताए ।
प्रहरीले पंकबहादुरको घरमा डेरा गरी बस्ने बुदुवा र मसिनको कोठाबाट ५ पोका प्लाष्टिक भित्र रहेको मह जस्तो देखिने तरल पदार्थ र २ टिन चाका, कुमारीको घरमा डेरा गरि बस्ने अरुणको कोठाबाट ३ पोका प्लाष्टिक भित्र रहेको मह जस्तो देखिने तरल पदार्थ र २ बाल्टी चाका बरामद गरेको छ ।

यस्तै रामेश्वरको घरमा डेरा गरी बस्ने ईन्द्रजित र पिन्टुको कोठाबाट ९ पोका पलाष्टिक भित्र रहेको मह जस्तो देखिने तरल पदार्थ र शोभाको घरमा डेरा गरी बस्ने सुधिर र रवीनको कोठाबाट १० पोका प्लाष्टिक भित्र रहेको मह जस्तो देखिने तरल पदार्थ, २ टिन चाका र ५० किलो चिनी बरामद भएको प्रहरी निरीक्षक पौडेले बताए ।

शनिबार राती नक्कली मह बनाउने व्यक्ति पक्राउ परेपछि आईतबार बिहान नक्कली मह बनाउने गिरोहको भागभाग भएको भयो । शनिबार राती नै केही व्यक्ति पक्राउ परेको जानाकारी पाएपछि घरमा ताल्चा लगाएर गिरोह भागेको स्थानियहरुले बताएका छन् ।

मह जस्तै बनाउन नक्कली महको चाका समेत भारतबाटै ल्याउने र चिनीमा उक्त चाका पकाएपछि नक्कली मह बन्ने गरेको जनप्रतिनिधी नहकुल शाही ठकुरीले बताए । ‘मौरीको मह भन्ने गराउन दुई÷चार वटा मौरी त्यहि राख्ने । अनि भारतबाटै मौरीको चाका जस्तै देखिने बस्तुलाई चिनी पानी बनाएर पगालेपछि मह जस्तै बनाएर रुपन्देही तथा जिल्ला बाहिरसमेत बजारमा पु¥याएर उनीहरुले बेच्ने गरेको पाईयो’, शाहीले भने ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । बरामद गरिएको मह कारबाहीका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवामा पठाइएको प्रहरी निरीक्षक पौडेलले बताए ।