वातावरणको अधिकारसम्बन्धी सडक नाटक प्रदर्शन

मेचीकाली संवाददाता

३१ बैशाख २०८०, आईतवार
569 shares

सुनिल आचार्य
कपिलवस्तु । मायादेवी गाउँपालिका–१ पकडी चोकमा वातावरणको अधिकारसम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । आइतबार छत्रपालि तीर्थादेवी माविमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र किशोरी अधिकार मञ्च कपिलवस्तुको आयोजना, मायादेवी गाउँपालिकाको समन्वय तथा इन्सेक र ओरेकको सहयोगमा सडकनाटक प्रदर्शन गरिएको हो ।

वातावरण प्रदूषणका कारण स्वास्थ्यमा पर्ने असर, समाजमा हुने असरहरु, लैंगिक विभेद, शिक्षाको अधिकारलाई पहिलो प्राथमिकता दिनुपर्नेलगायतको विषयवस्तु समेटिएको नाटक प्रदर्शन गरिएको थियो । सडक नाटकलाई अवलोकन गर्दै मानव अधिकार समूह लुम्बिनी प्रदेश सञ्जाल संयोजक पुष्पा रेग्मीले आफ्नो घरबाट नै सरसफाइमा ध्यान दिन जरुरी भएको बताइन् । गाउँपालिकालाई सौन्दर्यीकरण बनाउन यहाँका विभिन्न व्यवसायीहरुका पसलहरुबाट निस्केका फोहोरहरु आ–आफैँले व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परमेश्वरप्रसाद यादवले नेपाल सरकारले गर्ने काम इन्सेकका विभिन्न सञ्जालमार्पmत विभिन्न सन्देशमूलक अभियानहरु सञ्चालन गरेकोमा धन्यवाद दिए । यसैगरी ओरेक नेपालका सामाजिक मनोविमर्शकर्ता सुष्मा आचार्यले वातावरण सफा रहे आम नागरिकहरुको स्वास्थ्यमा असर नपर्ने बताउँदै शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् । वातावरण अधिकार रक्षक सञ्जाल लुम्बिनी प्रदेश सदस्य दिलिपकुमार बरईले वातावरणको अधिकार प्राप्त गर्न सम्पूर्ण व्यवसायी तथा सरोकारवालाहरु एकजुट हुनुपर्ने बताए ।

नाट्यकार कृष्ण अग्रहरीले गाउँपालिकाले यहाँका नागरिकहरुलाई सचेत गराउने र फोहोर डस्टबिनमा राख्नुपर्छ भन्ने विषयमा सचेतनामूलक अभियानहरु सञ्चालन गर्न आवश्यक देखिएको बताए । प्रत्येक वडाहरुमा शिक्षा, स्वास्थ्य, वातावरण, लैंगिक विभेदलगायतका विभिन्न सचेतनामूलक अभियानहरु सञ्चालन गर्न पालिकाले सहयोग गरे नाट्य समूह समन्वयका लागि प्रतिबद्ध रहेको बताए ।

सडक नाटकमा बाल अधिकार चेतना समूहका अध्यक्ष राजकुमार धोवीले समूहले प्रस्तुत गरेको सडक नाटकबाट सुने बुझेका कुराहरुलाई मायादेवी गाउँपालिकाको बजार क्षेत्रका व्यवसायीहरुले आत्मसाथ गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि, बाल अधिकार चेतना समूह, मानव अधिकार समूह, किशोरी अधिकार मञ्च, सुरक्षाकर्मी, विद्यार्थीहरु स्थानीय समाजसेवीहरुलगायतको सहभागिता रहेको थियो ।