एमाले सांसद टोपबहादुर रायमाझी पक्राउ

मेचीकाली संवाददाता

३१ बैशाख २०८०, आईतवार
487 shares

काठमाडौं । नेपाल प्रहरीले नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका योजनाकारका रुपमा प्रहरीले रायमाझीलाई खोजी गरिरहेको थियो।

वैशाख २० गते प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएसँगै उनी फरार थिए।

प्रहरीको टोलीले उनलाई बुढानिलकण्ठबाट पक्राउ गरेको हो। २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने रायमाझी अर्घाखाँचीबाट निर्वाचित भएका थिए। एमालेको दशौं महाधिवेशनबाट उनी सचिव समेत चुनिएका थिए। रायमाझी तत्कालीन नेकपा विभाजन हुँदा एमालेतिर लागेका थिए।

फरार अवस्थामा नै रायमाझीका तर्फबाट संसदमा बिरामी बिदा निवेदन समेत पेस भएको थियो। बिदा पेस भएसँगै प्रहरीले थप निगरानी बढाएको थियो। शरणार्थी प्रकरणमा फरार भएपछि एमालेले उनलाई पार्टी जिम्मेवारीबाट निलम्बन गरेको थियो।