वालिङमा जग्गाको कित्ताकाट खुला

मेचीकाली संवाददाता

२ जेष्ठ २०८०, मंगलवार
310 shares
फाइल तस्वीर

वालिङ, जेठ २ । स्याङ्जाको वालिङ मालपोत कार्यालयले नगरपालिकामा जग्गाको कित्ताकाट सुरु गरेको छ । जिल्लामा लामो समयदेखि रोकिएको कित्ताकाट वालिङमा सुरु भएको हो । राष्ट्रिय भु–उपयोग ऐन २०७६ र नगरपालिकाको भु–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्ड तथा आधारहरु, २०७९ अनुसार वालिङमा जग्गाको कित्ताकाट सुरु भएको नगरपालिकाले जनाएको छ ।
आंशिक रुपमा कित्ताकाट सुरु भएको नगरपालिकाद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।वालिङ नगरपालिकाका ५ वटा वडाहरुमा कित्ताकाट सुरु भएको सुचनामा उल्लेख छ । नगरपालिकाका वडा नं.६, ८, ९, १० र १३ मा कित्ताकाट सुरु भएको हो । जारी सुचनाअनुसार कित्ताकाट भएका वडाका नागरिकहरुले वर्गीकरण गरी सम्बन्धित मालपोत र नापी कार्यालयमा पठाइसकिएको छ । कित्ताकाट गरिएका वडाका नागरिकहरुले स्रेस्ता कायम गर्नुपर्ने भएमा सक्कल लालपुर्जा लिई मालपोत कार्यालयमा जान नगरपालिकाले अनुरोध गरेको छ ।

वालिङ मालपोत कार्यालयका प्रमुख रविन अधिकारीका अनुसार सिफारिसमा उल्लेख भएर वडा कार्यालय बाट आउनु पर्ने र नापी कार्यालयको नियम अनुसार क्षेत्रफल अनुसार हुनुपर्ने नापी प्रमुख गगन ढकालले बताए । छिटैनै अरू पालिकाको पनि कित्ता काट हुने प्रक्रियामा प्रमुख ढकालले बताए ।