

पाल्पा । तानसेनको टुडिखेलमा कर्नेल उजीर सिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता २०८० संचालन हुने भएकोछ । पाल्पा जिल्ला फुटबल संघ द्धारा आयोजित पत्रकार सम्मेलनमा आउँदो जेष्ठ १२ देखि २७ गतेसम्म प्रतियोगिता संन्चालन गरिने जानकारी गराइएको हो ।
जिल्ला फुटबल संघका अध्यक्ष प्रणय बिरजंग राणाले प्रतियोगिता सम्बन्धी जानकारी गराउदै पाल्पा, रुपन्दृही, काठमाण्डौ, चितवन, कास्की लगायतका १६ टिमको सहभागिता रहने बताए । उनले कर्नेल उजिर सिंहको बिजय प्राप्त गरेको दिनको स्मरणमा खेल सुरु गर्न लागिएको बताए । प्रतियोगिताको आयोजनाले पाल्पाको आन्तरिक तथा बाहय पर्यटनमा टेवा पुग्ने समेत उनको भनाइ थियो ।
पाल्पामा झण्डै ३३ वर्षपछि राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजकको भनाई छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख, पाल्पाली करुवा ट्रफी र मेडल पाउनेछन भने दोस्रो हुने टिमले नगद १ लाख ५० हजार, पाल्पाली करुवा ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले जानकारी गराए । प्रतियोगितामा प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार दिइने छ । उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा १३ वर्षसम्मको बालवालिकालाई निःशुल्क प्रवेश दिइने छ । अस्थायी प्याराफिटमा बस्ने दर्शकले ७० रुपैयाँ तिर्नुपर्ने छ । ग्राउण्डका दर्शकले ५० रुपैयाँ तिर्नु पर्नेछ , जेष्ठ नागरिक, विद्यार्थीलाई ५० प्रतिशत छुट दिइने छ । प्रतियोगिता अवधिभरका लागि २ हजार ५ सय रुपैयाँ तिर्नेले विशेष पास पाउने आयोजकले बताए । वर्षौदेखि सुस्ताएको फुटबल प्रतियोगितालाई नयाँ ढंगले अघि बढाउँदै युवालाई खेलमैत्री भावनाको विकासका साथै स्वस्थ र सकारात्मक युवाहरु उत्पादन गरी राष्ट्र विकासमा योगदान दिने लक्ष्य रहेको पाल्पा गोल्डकपका सल्लाहकार तथा पुराना खेलाडी अशोकमान महर्जनले भनाई थियो । जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले खेलाडीलाई हौसला प्रदान गर्ने खालका राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरेर लामो समयपछि फुटबलको इतिहासलाई पुनः सम्झाउन खोजिएकोमा प्रतियोगिता सफल बनाउन संस्थागत र व्यक्तिगत रुपमा पूर्ण सहयोग रहने बताउदै उपाध्यक्ष घिमिरेले नगद २५ हजार रुपैयाँ सहयोग गरेको आयोजकले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष रेखीराम रानाले प्रतियोगिताले सुस्ताउँदै गएको अर्थतन्त्रमा सुधार हुने बताए । प्रतियोगितालाई प्रचार–प्रसार गरेर पत्रकारहरुले पूूर्ण रुपमा सहयोग गर्ने उनले बताए । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष माधव अर्याल, नेपाल प्रेस युनियनकी जिल्ला अध्यक्ष मन गहिरे कार्यक्रममा प्रेस चौतारीका जिल्ला सचिव नारायाण न्यौपाने, प्रेस सेन्टरका कोषाध्यक्ष कमल अधिकारी, पाल्पाली संगम काठमाडौंका पूूर्व अध्यक्ष पदम न्यौपाने, पत्रकार कृष्ण पोखरेल, अनिल लिगल लगायतले प्रतियोगिताका कारण पाल्पाको फुटबल इतिहास पुनः सम्झाउने प्रयास भएको बताए ।