मिटर व्याजसम्बन्धी अन्तरक्रिया तथा सुझाव संकलन

मेचीकाली संवाददाता

५ जेष्ठ २०८०, शुक्रबार
230 shares

पार्वती आचार्य
कपिलवस्तु । अनुचित लेनदेन (मिटर व्याज) सम्बन्धन्धी अन्तरक्रिया तथा सुझाव संकलन जिल्ला प्रशसन कार्यालय कपिलवस्तुमा गरिएको छ । कार्यक्रममा अनुचित लेनदेन (मिटर व्याज) सम्बन्धि जाँचबुझ आयोग, २०७९ का अध्यक्ष गौरी बहादुर कार्कीको अध्यक्षतामा जिल्लाका सरोकारवालाहरु बिच अन्तरक्रिया तथा सुझाव संकलन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा जेठ ३ गते सम्म ६४ वटा उजुरी दर्ता भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताउनु भयो । आयोग गठन हुनु अघि २० वटा र गठन पछि ४४ वटा उजुरी दर्ता भएको बताउनु भयो । जिल्ला प्रशासनमा आएका उजुरीको अध्ययन भइरहेको छ ।

मिटर ब्याज पीडीतहरुलाई उजुरी दिने बारे सबै सरोकारवालाले पहल गर्नु पर्ने उहाँको भनाई छ । साथै मिटर ब्याजबाट पीडीत भएकाहरुलाई उजुरी दिन सहजत होस भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडीत सहायता कक्ष समेत स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो ।

यसैगरी आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले वास्तविक मिटर ब्याज पीडीतले निर्धक्क भएर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गर्नु भयो । उहाँले उजुरीका आधारमा अध्ययन अनुसंधान गरी पीडीतहरुलाई न्याय दिलाउने बताउनु भयो ।
जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले मिटर ब्याजबाट पीडीत भएकाहरुलाई सरकारले न्याय दिनु पर्ने बताउँदै पीडीतहरुलाई उजुरीका लागि सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । यस्तो समस्या आउनुमा कित्ताकाट रोकुवा हुनुको पनि मुख्य कारण भएको बताउनु भयो । कित्ताकाटको समस्याको समाधान आयोगले गरिदिए ५० प्रतिशत समस्या समाधान हुने र लघु वित्तिय संस्थाबाट शोषण नहुने जिल्ला समन्वय समितीका प्रमुख आचार्यले बताउनु भयो ।

कार्यक्रममा बैक तथा बित्तिय संस्थाहरुले रिण प्रवाह गर्दा कृषक, बिपन्न परिवारलाई सहज रिणको ब्यवस्था गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका थिए । यस्तै लघु बित्त जस्ता बित्तिय संस्थाहरुले समेत बिभिन्न बाहानमा रिण दिएर चर्को ब्याज असुली गर्ने गरेकोले त्यस तर्फ पनि राज्यले ध्यान दिनुपर्नेमा जोडदिएका थिए ।
उक्त अन्तरक्रियामा बाणगगा नगरपालिकाका मिटर ब्याजबाट पीडीत संगीता थारु र रामदास थारुले आफूहरु मिटर ब्याजबाट पीडीत भएका हुँदा न्याय दिन आग्रह गरेका थिए ।

कार्यक्रममा आयोगका सदस्यहरु , जिल्ला समन्वय समितीका प्रमुख, प्रमुख जिल्ला अधिकारी , कपिलवस्तु नगरपालिकाका प्रमुख , बुद्धभूमि नगरपालिकाका प्रमुख , बाणगंगा नगरपालिकाका उप प्रमुख , शुद्धोधन गाउँपालिकाका अध्यक्ष , जिल्ला न्यायाधिवक्ता , राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु , नागरिक समाज , सुरक्षाकर्मी , बैंक तथा वित्तिय संस्थाका प्रमुख ,पत्रकार र मिटर व्याज पीडितहरुको सहभागिता रहेको थियो ।