लागुऔषध चरेशसहित दुईजना पक्राउ

मेचीकाली संवाददाता

५ जेष्ठ २०८०, शुक्रबार
185 shares

कपिलवस्तु । शिबराज नगरपालिका वडा ९ बनियाभार लक्करबन्दी बस्ने ३५ वर्षीया हरि कुमारी रोकालाई जेठ २ र वडा नं. १ बस्ने ५६ वर्षीय वेदप्रसाद कामीलाई प्रहरीले जेठ ३ गते पक्राउ गरेको छ ।

रोकाको घरमा लागु औषध चरेश लुकाई छिपाई राखी कारोबार गर्दै आएको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले हरि कुमारी रोका बस्दै आएको घरमा खानतलासि गर्दा कालो खैरो गिलो अवस्थाको लागू औषध (चरेश) जस्तो देखिने पदार्थ (४१ प्याकेट) ४ किलो १०० ग्राम चरेश र ११६ ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरेको छ ।

महिलाको साथमा रहेको ख लेखेको कालो रंगको भिर्ने झोला भित्र भारतिय र नेपाली दरको बिभिन्न नोट गरी जम्मा रू.३, ९६,५८५ ( तीन लाख छ्यानब्बे हजार पाँच सय पचासी) र सोही झोला भित्र सुन जस्तो देखिने माडबारी १ जोर तौल गर्दा ४८.८ लाल र चाँदी जस्तो देखिने पाँउजु १ जोर तौल गर्दा २३.५६० ग्राम फेला परेको थियो । उक्त सामान बरामदी गरी मुचुल्का सहित हरि कुमारी रोकालाई पक्राउ गरी वडा प्रहरी कार्यालय चन्द्रौटामा दाखिला गरी सोधपुछ गरियो ।

उक्त वारदातमा संलग्न शिबराज नगरपालिका वडा १ बनकट्टी बस्ने ५६ वर्षीय देब प्रसाद कामी समेत संलग्न रहेको खुल्न आएको हुँदा लागू औषध (चरेश) मुद्दामा संलग्न देब प्रसाद कामीलाई जेठ ३ गते पक्राउ गरी सम्मानित अदालतबाट म्याद थप भई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्ष मिन बहादुर घलेले बताउनु भयो ।