भारतीय नोटसहित दुई जना पक्राउ

मेचीकाली संवाददाता

७ जेष्ठ २०८०, आईतवार
163 shares

कपिलवस्तु । कपिलवस्तुमा भारतीय ४ लाख ९९ हजार ५ सय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंज बस्ने ३५ वर्षीय मनोजकुमार गुप्ता र कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने ४४ वर्षीय सोमनाथ चौहानलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

बहादुरगंज चोकस्थित तौलिहवा भैरहवा सडक खण्डमा बहादुरगंजदेखि तौलिहवातर्फ आउँदै गरेको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंज बस्ने ३५ वर्षीय मनोजकुमार गुप्ताले चलाएको लु ७६ प ८५७ नम्बरको मोटरसाइकल र तौलिहवा हाटबजारदेखि बहादुरगंज रोडतर्फ जाँदै गरेको कपिलवस्तु नगरपालिका वडा नं. १ बस्ने २७ वर्षीय सुरेन्द्र कोरीले चलाएको लु २ त ५१२१ नम्बरको ट्याक्टर एक आपसमा ठक्कर खाई सवारी दुर्घटना भएको थियो ।

उक्त घटनालाई प्रहरी अधिकृतको टोली घटनास्थलमा गई मोटरसाइकल चालकलाई उद्धार गर्ने क्रममा मोटरसाइकल चालकले शंकास्पद गतिविधि देखाएकोले मोटरसाइकल चालक र पछाडी सवार सोमनाथ चौहानलाई खानतलासी गर्दा भारतीय ५०० दरको १० गड्डीमा नोट (९९९ थान) गरी जम्मा भारु ४ लाख ९९ हजार ५ सय रुपैया फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।

मोटरसाइकल चालक मनोजकुमार गुप्ता र उक्त मोटरसाइकलको पछाडी सवार सोम नाथ चौहानलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक प्रेमबहादुर बस्नेतले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मोटरसाइकल तथा ट्याकटर चालक प्रहरी नियन्त्रणमा छन् । बरामद भएको भारतीय नोटसहित दुवै जनालई राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको प्रहरी उपरिक्षक बस्नेतले बताए ।