बाल अधिकार चेतना समूहद्वारा ध्यानाकर्षणपत्र

मेचीकाली संवाददाता

८ जेष्ठ २०८०, सोमबार
194 shares

कपिलवस्तु । कपिलवस्तु नगरपालिका ३ स्थित यशोधरा माविमा इन्सेकद्वारा गठन भएको बाल अधिकार चेतना समूहका पदाधिकारीहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सोमबार बिद्यालयका समस्याहरुको पहिचान गरी शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिप्रसाद ज्ञवालीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । बाल बालिकाहरुका लागि खेलकुदबाट पनि चौतर्फिक बिकास हुने भएको हुँदा आफ्नो माग सहित बिद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापहरुको आवश्यकता, शुद्ध पिउने पानीको समस्या, शौचालयमा साबुनपानीको व्यवस्था नभएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यस्तै पानी पर्दा बिद्यालय प्राङ्गणमा पानी जम्ने समस्या, विद्यालयमा खेलकुद सामग्रीहरुको अभाव, विद्यालयमा विद्युत्को समस्या, विज्ञान प्रयोगशालाको प्रयोग नहुनु, प्राथमिक उपचार सामग्रीको अभाव, विद्यालयमा अतिरिक्त क्रियाकलाप नहुनु,स्कुलको वालबाउन्ड्री बनाउनुपर्नेलगायतका विषयहरुमा छलफल तथा पहिचान गरिएको बाल अधिकार समूहले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न, विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्नका लागि मागदावीसहित ध्यानाकर्षण पत्र बुझाइएको बाल अधिकार चेतना समूहकी अध्यक्ष पिंकी कुर्मीले बताइन् ।
बाल अधिकार चेतना समूहका सदस्य रामनारायण गुप्तले विभिन्न खेलकुदबाट पनि विद्यार्थीहरुको चौतर्फी विकास हुने भएको हुँदा खेल सामग्रीहरु उपलब्ध गराइदिन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिप्रसाद ज्ञवालीसमक्ष आग्रह गरेका छन् ।
यस्तै मानव अधिकार लुम्बिनी प्रदेश सञ्जाल संयोजक पुष्पा रेग्मीले बालबालिकाहरुको क्षमता अभिवृद्धि गर्न मानसिक रुपमा चौतर्फी विकास खेलबाट पनि हुने भएको हुँदा बाल अधिकार चेतना समूहका पदाधिकारीहरुको आवश्यक समस्याहरुको समाधान गरिदिन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखलाई आग्रह गरिन् ।

बाल अधिकार चेतना समूहका पदाधिकारीहरुको मागदाविसहितको ध्यानाकर्षण पत्रलाई संबोधन गर्दै बालबालिकाहरुलाई खेलकुद सामग्रीहरु उपलब्ध गराउने र ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका बिषयबस्तुहरुलाई सम्बन्धित विद्यालयसँग समन्वय गरेर समस्याको समाधान गर्ने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिप्रसाद ज्ञवालीले प्रतिबद्धता जनाए ।

बाल अधिकार चेतना समूहका अध्यक्ष पिंकी कुर्मीको संयोजकत्वमा समूहका पदाधिकारीहरु, मानव अधिकार लुम्बिनी प्रदेश सञ्जाल संयोजक पुष्पा रेग्मी, इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य, मानव अधिकार समूह कोषाध्यक्ष सरिता कोरीलगायतको उपस्थिति रहेको थियो ।