सहकारीमा व्यापक कैफियत, राज्यको पूरै उदासिनता

मेचीकाली संवाददाता

९ जेष्ठ २०८०, मंगलवार
157 shares

बुटवल । बुटवलकी लक्ष्मी मल्लले आफ्नो कमाइको केही हिस्सा सत्यदीप बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गर्दै आएकी थिइन् । पतिको कमाइमा आफ्नो पनि रकम थपेर बचत गर्ने उनको बानी थियो । बचत गर्नु भविष्यका लागि निकै राम्रो कुरा हो । तर, यसरी बचत गरेको सहकारीका सञ्चालक भागेपछि लक्ष्मी तनावमा छिन् ।

‘खाइनखाइ जोगाएको पैसा बचत गरेँ,’ मल्ल भन्छिन्,‘पैसा झिक्न जाँदा सहकारीमा झुन्डिएको ताला अझै खुलेको छैन । घरबाट थाहा पाए बसिखानु हुँदैन । बचतको रकम लाख रुपैयाँभन्दा धेरै छ ।’ महिना दिनको अवधिमा उनी कैयन्पटक सहकारीमा पुगेकी छन् । ‘बुढेसकालको सहारा हो । जालझेल गरेर खाइदिए, अब म कहाँ जाऊँ ? दैनिकजसो कार्यालयमा जाँदा सञ्चालक भेटिँदैनन् । अब त पैसा पाउने आशा पनि मर्न थालिसक्यो,’ उनले थपिन् । सत्यदीप सहकारी विगत २ महिनादेखि बन्द छ । एक हजारभन्दा बढी बचतकर्ताको करोडौँ रुपैयाँ फसाएर सहकारीका सञ्चालक सम्पर्कविहीन छन् ।

मोबाइल पसल सञ्चालन गर्दै आइरहेका बुटवलका बुद्धि खनालले पनि कमाइको केही रकम बचत गर्दै आएका थिए । शिवशिखर सहकारीमा उनको ५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको थियो । सहकारी सञ्चालक भागेको सुनेदेखि उनको पनि भोक निद्रा हराएको छ । सहकारीको कार्यालय बुटवल योगीकुटीमा पुग्दा पैसा फिर्ता माग्नेको भीड थियो । उनीजस्तै ५ हजार सदस्यको करोडौं रकम राखिएको सहकारी ३ महिनादेखि पूर्ण रूपमा बन्द छ ।

पीडितहरूले दिनदिनै आफ्नो बचत फिर्ताका लागि सबैसँग हात फैलाइरहेका हुन्छन् । सहकारीका सञ्चालक कहाँ छन्, पैसा फिर्ता पाउँछन् कि पाउँदैनन् भन्ने कसैलाई जानकारी छैन । ‘पैसा फिर्ता माग्न सुरुसुरुमा त दिनदिनै गइयो’ बुद्धि भन्छन्, ‘अब फिर्ता आउनेमा आशा पनि म¥यो । सहकारीमा सटर लागेको धेरै भयो । हामीजस्तै धेरै जनतालाई बिचल्ली बनायो ।’ बुटवलकै विपिन गैरेले रकम जम्मा गरेका आगन्तुक बचत तथा ऋण सहकारी र सुप्रिम सहकारी दुवै अहिले बन्द छन् ।
आगन्तुक सहकारीमा ५० हजार र सुप्रिममा ४० हजार रुपैयाँ फसेको उनको गुनासो छ । ‘सहकारीले चेक दिएको थियो,’ गैरेले गहभरि आँसु पार्दै भने, ‘साट्न भनेर बैंकमा जाँदा पैसै रहेनछ । मलाई उल्लु बनाउन चेक दिएका रहेछन् । सहकारीले मेरो जीवनलीला समाप्त पार्ने भयो ।’ सहकारीमा पैसा फसेकाहरूको राज्यसँग पनि गुनासो छ । ‘अर्थतन्त्रलाई चलायमान गराउने सहकारीलाई लयमा ल्याउन राज्यबाट उदासीनता देखियो,’ शिवशिखर सहकारीमा ७० हजार बचत फसाएका राजेन्द्र झाँक्री मगरले भने । यी केही प्रतिनिधिमूलक पात्र मात्रै हुन् । सहकारीको ठगीबाट सर्वसाधारण पीडित भएका घटना रूपन्देहीमा धेरै छन् ।

रूपन्देहीमा एकपछि अर्को गर्दै आधा दर्जन सहकारी भागे
गएको माघ अन्तिमतिर काठमाडौंमा केन्द्रीय कार्यालय रही बुटवलको योगीकुटीमा शाखा रहेको शिवशिखर सहकारीमा समस्या आएको थियो । शिवशिखर अहिले पूर्ण रूपमा बन्द भएको छ । उक्त सहकारीपछि बुटवलको राजमार्ग चौराहामा शाखा रहेको सुप्रिम बहुउद्देश्यीय सहकारी समस्याग्रस्त बन्न पुग्यो । त्यसपछि आगन्तुक बहुउद्देश्यीय सहकारी खराब कर्जाका कारण संकटग्रस्त बन्यो । सत्यदीप सहकारी, उपकार सहकारी, लुम्बिनी बहुउद्देश्यीय सहकारी, मार्गदर्शन सहकारी, सार्थक सहकारी, साइन सहकारी संकटग्रस्त बनेका छन् ।

समस्यामा परेका बचतकर्ताले सुइँको पाएर बचत फिर्ता माग्न जाँदा उनीहरू सम्पर्कविहीन छन् । यी सहकारीले बचतकर्तालाई रकम फिर्ता गर्न छाडेपछि बचतकर्ताहरू दिनदिनै सहकारीको कार्यालयमा धाइरहेका छन् । तर, नियामक निकायले फरारहरूलाई पक्राउ गरी जनताको पैसा फिर्ता गराउन कुनै चासो र सरोकार लिएको देखिँदैन । शिवशिखर सहकारी रहेको घरका धनी ईश्वरी मल्लले आफ्नो घर तीन महिनादेखि बन्द रहेकाले खाली गराउन वडा कार्यालयसहित प्रहरी र नगरपालिकामा निवेदन दिएका छन् ।

१० हजारभन्दा बढी बचतकर्ताको ४० करोड डुब्यो
बुटवलमा अहिलेसम्म ६ वटा सहकारी पूर्णरूपमा समस्या देखिएर बन्द भएका छन् । आधा दर्जन सहकारीमा झण्डै १० हजारभन्दा बढी बचतकर्ताको ४० करोड रूपैयाँ बचत रहेको बचत तथा ऋण केन्द्रीय संघ (नेफ्सकुन) ले जनाएको छ । फितलो नियमन र सञ्चालकको मनोमानी बढ्दा रूपन्देहीका आधा दर्जन सहकारीमा सर्वसाधारणको करिब ४० करोड रूपैयाँ डुबेको देखिन्छ ।

नेफ्सकुनका सन्दीप सापकोटा नियामक निकाय मुकदर्शक बन्दा बचतकर्ता बिचल्लीमा परेको बताउँछन् ।
‘सरोकारवाला निकायका कारण सहकारी बदनाम बन्न पुगे,’ सापकोटा भन्छन्, ‘प्रदेश रजिष्ट्रारको कार्यालय नियामक निकाय हो । उनीहरूले चासो दिएका छैनन् । फरार भएका सहकारी सञ्चालकलाई पक्राउ गर्न प्रशासनमा पनि आग्रह गरिएको छ । तर, सुनुवाइ कतैबाट नहुँदा बचतकर्ताको करोडौं रूपैयाँ के हुन्छ भन्न सक्ने अवस्थामा छैन ।’ यति धेरै सहकारीमा समस्या आउँदा पनि सरकार सर्वसाधारणको रकम फिर्ता दिलाउन उदासीन देखिएको सापकोटाको गुनासो ।
अहिले एक पालिका कार्यक्षेत्र भएका सहकारी स्थानीय तह मातहत, एकभन्दा बढी पालिका कार्यक्षेत्र भएकाहरू प्रदेश सरकार र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएका संस्था सहकारी विभाग मातहत छन् । ५० करोडभन्दा बढी बचत रहेका सहकारीलाई पनि विभागले नियमन गर्ने व्यवस्था छ । गरीब जनताको आर्थिक हैसियत सुधार गर्ने अस्त्र मानिएका सहकारी उनै जनताको कमाइ लुट्ने साधन बन्दै गएको देखिन्छ ।

कस्ता सहकारी डुबे ?
अधिकांश सहकारी सञ्चालकको मनोमानीले समस्यामा पुगेको देखिन्छ । उनीहरूले एकलौटी रूपमा घरजग्गामा लगानी गरेको पाइन्छ । धमाधम सहकारी डुब्न थालेपछि आफ्नो बचत पनि छिमेकी र अन्य साथीहरूको जस्तै हुने त होइन भनेर अन्य सहकारीका बचतकर्ता पनि त्रसित छन् । सहकारी क्षेत्रका जानकार ईश्वरीप्रसाद मरासिनीले समुदायमा आधारित सहकारीमा समस्यामा नरहे पनि बाहिरबाट आएका सहकारी समस्यामा परेको बताउँछन् ।‘शेयर सदस्य नबनाई कारोबार गर्ने, दैनिक बचत संकलन गर्ने, विनाधितो कर्जा दिने सहकारीमा बजार अलिकति तलमाथि हुनेबित्तिकै समस्या देखिन्छ,’ मरासिनीले भने, ‘सोचविचार नपु¥याई दर्ता गर्ने, प्रभावकारी नियमन नगर्ने राज्यको कारण सहकारी धरासायी हुँदै गएका छन् ।’ समस्यामा परेका धेरै सहकारी केन्द्र र प्रदेशमा दर्ता भएर सञ्चालनमा रहेकाहरू हुन् । सहकारीले केही रकम तरलताको रूपमा राखेर बाँकी रकम सदस्यको बीचमा नै परिचालन गर्नुपर्ने हो । परिचालन गर्दा संस्थाले उच्चतम शतर्कता अपनाउनुपर्छ । यति मात्र गर्न सकियो भने सदस्यहरूको बचत सुरक्षित हुने मरासिनीको भनाइ छ ।

के भन्छ नियामक निकाय ?
समस्यामा परेका सहकारीको नियामक निकाय प्रदेश सहकारी विभाग हो । विभागका रजिस्ट्रार भीम तिवारीले समस्याग्रस्त सहकारीको अनुगमन गरी फरारहरूको खोजी र पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको बताउँछन् । ‘सत्यदीप, सार्थक, आगन्तुकलगायत सहकारीको कार्यालयमा म आफैं पुगेर बचतकर्ताको भुक्तानीका लागि पहल थालेको छौं,’ तिवारीले भने, ‘केन्द्रबाट समस्याग्रस्त सहकारी घोषणा गरी राज्य अगाडि बढ्नुपर्ने देखिन्छ । प्रदेशलाई पूर्ण अधिकार नहुँदा चाहेर पनि एक्सन लिन सकेका छैनौं ।’ लुम्बिनी प्रदेशमा ४ हजार ६०० सहकारी सञ्चालनमा छन् । ‘सहकारीको ज्ञान नभएकाहरूले सञ्चालन गर्दा समस्या सिर्जना भएको देखिन्छ,’ तिवारीले थपे, ‘त्यसमा सर्वसाधारणले ब्याजको लोभले बचत गर्दा यो अवस्था सिर्जना भएको छ ।’ नगरभित्रै धेरै सहकारी सञ्चालक भाग्दा बुटवल उपमहानगरपालिका समेत रमितेजस्तै देखिएको छ ।