गुल्मीदरबार पूर्ण खोप, पोषणमैत्री र संस्थागत प्रसूति सेवा सुनिश्चित घोषणा

मेचीकाली संवाददाता

८ जेष्ठ २०८३, शुक्रबार
20 shares

टोपलाल अर्याल

गुल्मी । गुल्मीदरबार गाउँपालिका पूर्ण खोप, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था, पूर्ण संस्थागत प्रसूति सेवा सुनिश्चित घोषणा गरिएको छ । गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले सुनिश्चित घोषणा गरेका हुन् । सोही अवसरमा यी अभियानहरु सफल बनाउने वडा कार्यालय, स्वास्थ्यचौकी र स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो । गुल्मी दरबार गाउँपालिका देशभरमै पहिलो पोषणमैत्री स्वास्थ्ययुक्त गाउँपालिका घोषणा गरिएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पूर्ण खोप, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था, पूर्ण संस्थागत प्रसूति सेवा सुनिश्चित गर्न गरिएका सबै गतिविधिको बारेमा प्रकाश पारेका थिए । गाउँपालिकाले उमेरहदको कारण अनिवार्य अवकास भएकी गुल्मीदरवार गाउँपालिका–७ की ६० वर्षीया सुमित्रा खड्कालाई ५० हजार रुपियाँ नगदसहित खादामालाले सम्मान गरेको छ । उनी २०५३ साल जेठ ७ गते आफ्नो जन्मदिनबाटै स्वयसेविका बनेकी थिइन् ।

स्वयसेविकाको रुपमा ३० दशक बिताएकी खड्कालाई नगदसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायणप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार गुल्मीदरबार गाउँपालिकाले अहिलेसम्म ६० वर्ष पुगेका महिला स्वास्थ्य स्वयंसेविका सावित्रा खड्कासहित सीता श्रेष्ठ, लक्ष्मी कार्की, भगवती टण्डन र राधिका रानालाई नगद ५० हजार रुपियाँसहित बिदाई गरिएको छ । गुल्मीदरवारमा ८३ जना महिला स्वास्थ्य स्वयसेविका रहेका छन् । यो कार्यक्रम गत आर्थिक वर्षबाट कार्यान्वयन भएको हो ।

गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेँगाले मानव जीवनमा स्वास्थ्य सबैभन्दा ठुलो विषय भएकाले पालिका तहबाट स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट तथा कार्यक्रम बनाइएको बताइन् । पूर्ण खोप, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था, पूर्ण संस्थागत प्रसुती सेवा सुनिश्चित पालिका घोषणा तथा महिला स्वास्थ्य स्वयसेविका सम्मान गर्दै गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले पुरानाको सम्मान र नयाँलाई ऊर्जा जगाउन सम्मान थालिएको बताए । उनले गुल्मीदरबार आधारभूत अस्पताल, सञ्चालन, स्वास्थ्य बिमा कार्यान्वयन, विशेषज्ञ शिविरहरु, ज्येष्ठ नागरिक स्वास्थ्योपचारसहित, सुनौलो हजार दिनका आमा र बच्चाहरुको क्षेत्रमा उदाहरणीय कामहरु गुल्मीदरवार गाउँपालिकाले गरिरहेको बताए ।