लुम्बिनी प्रदेशका ४५ विद्यालयका ४० भन्दा विद्यार्थी शिक्षक सम्मानित

मेचीकाली संवाददाता

२८ बैशाख २०८३, सोमबार
25 shares

बुटवल । नेपालमा अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर पाठ्यक्रम भित्र्याएर बालबालिकाहरूलाई प्रविधिमा दक्ष बनाउँदै आएको डिजि स्कुल लुम्बिनी प्रदेशले बुटवलमा भव्य समारोहका बीच ‘डिजि अवार्ड सेरोमनी २०८२’ सम्पन्न गरेको छ । बेलायतको एन्सिसि (नेश्नल कम्प्युटिंग सेन्टर)को विश्वस्तरीय कम्प्युटर पाठ्यक्रमलाई नेपालका विद्यालयहरूमा कार्यान्वयन गर्दै आएको डिजि स्कुलले विद्यार्थीहरूलाई प्रविधिको संसारमा डोहो¥याउने शिक्षक र उत्कृष्ट नतिजा ल्याउने ४० भन्दा बढी विद्यार्थीहरूलाई उनीहरूका अभिभावकको उपस्थितिमा सम्मानित गरिएको छ ।

२०८२ सालमा डिजी स्कुलको पाठ्यक्रम सञ्चालनमा रहेका ४५ वटा विद्यालयहरू मध्येबाट उत्कृष्ट ठहरिएका विद्यार्थीहरूलाई विशेष समारोहमा अवार्ड प्रदान गरिएको थियो। सफ्टएड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै उनले डिजि स्कुल सन् २०१९ देखि सञ्चालनमा आएको जानकारी दिए।
उनले विद्यार्थीहरुलाई सानैदेखि कोडिङ तथा सूचना प्रविधिसम्बन्धी शिक्षा आवश्यक रहेको भन्दै व्यवहारिक रुपमा सिकाइ भइरहेको बताए। श्रेष्ठले पछिल्लो समय आईटी शिक्षाप्रति विद्यार्थी र अभिभावक दुवैको आकर्षण बढ्दै गएको उल्लेख गर्दै केही वर्षको प्राविधिक शिक्षाले नै विद्यार्थीलाई सक्षम र प्रतिस्पर्धी बनाउन सकिने धारणा राखे। “हामीले सन् २०१९ देखि नै विद्यालय तहबाटै कोडिङ, आर्टिफिसियल इन्टेलिजेन्स एआई र साइबर सुरक्षा जस्ता विषय पढाउन सुरु गरेका छौं।” उनले भने, “अहिले नेपालभरका करिब २५० विद्यालय हामीसँग आबद्ध छन्। हाम्रो उद्देश्य भनेको बालबालिकालाई सानै उमेरमा प्रविधिसँग फेमिलियर बनाएर नेपालमै बसेर विश्वभरका फ्रीलांसिङ र अनलाइन जबहरू गर्न सक्ने दक्ष जनशक्ति तयार पार्नु हो।”

उनले थपे भारत जस्ता देशले सफ्टवेयर निर्यात गरेर अर्बौं डलर कमाइरहेका छन् भने नेपालका युवाहरूमा पनि त्यो क्षमता छ। यसका लागि विद्यालय तहदेखि नै स्किल बेस्ड एजुकेशन अनिवार्य रहेको श्रेष्ठको तर्क थियो। डिजी स्कुलले एन्सिसि(नेश्नल कम्प्युटिंग सेन्टर)को कम्प्युटर पाठ्यक्रमलाई नेपालका विद्यालयहरूमा कार्यान्वयन गर्दै आएको बताउँदै कम्प्युटर पाठ्यक्रमलाई नेपाली विद्यालयहरूको परिवेश सुहाउँदो बनाएर लागू गरिएको डिजि स्कूलले जनाएको छ। लुम्बिनी प्रदेशका विद्यार्थीहरूले पनि विकसित देशका विद्यार्थीहरुले पढ्न पाउने अन्तराष्ट्रिय स्तरको कम्प्युटर शिक्षा नेपालमै पाउन सकेका छन् । सफ्ट्वेरिका कलेज आफ् आईटी एण्ड कमर्सका क्याम्पस प्रमुख प्रमोद पौडेलले नेपाली विद्यार्थीहरूलाई सानै उमेरमा अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि शिक्षासँग जोड्न सफल भएको बताए ।

विद्यार्थीहरूलाई वर्षभरि डिजी स्कुलको कोर्स पढाएर उनीहरूलाई डिजिटल रूपमा साक्षर र दक्ष बनाउन अहोरात्र खट्ने उत्कृष्ट शिक्षकहरूलाई पनि अवार्ड प्रदान गरियो। प्रविधिमैत्री शिक्षाको विस्तारमा शिक्षकहरूको भूमिका महत्वपूर्ण रहने भन्दै उनीहरूको योगदानलाई उच्च मूल्यांकन गरिएको हो । अहिले लुम्बिनी प्रदेशका मात्रै ४५ वटा भन्दा बढी विद्यालयहरू डिजी स्कुलको सञ्जालमा जोडिएका छन्। रुपन्देही, दाङ, नवलपरासी, पाल्पा र गुल्मी जस्ता जिल्लामा यो कार्यक्रमले एउटा मानक स्थापित गरिसकेको छ। यस वर्ष ४० भन्दा बढी उत्कृष्ट विद्यार्थी र सफल शिक्षकहरूको सम्मानले यो सञ्जाल अझै विस्तार हुने संकेत गरेको छ । डिजी स्कुलले पाठ्यक्रम मात्र नदिएर विद्यालयका शिक्षकहरूलाई पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको तालिम प्रदान गर्दछ।

शिक्षकहरू आफैँ प्रविधिमा अपडेट भएपछि मात्र विद्यार्थीले सही ज्ञान पाउँछन् भन्ने मान्यताका साथ यसले ‘शिक्षक सम्मान र प्रशिक्षण’ लाई प्राथमिकतामा राखेको डिजि स्कुल लुम्बिनी प्रदेशका निर्देशक लेखनाथ पन्थले जानकारी दिए । पन्थका अनुसार रुपन्देही, दाङ, नवलपरासी, पाल्पा र गुल्मी लगायत जिल्लामा अध्ययनरत विद्यार्थीबीच गरिएको आन्तरिक प्रतिस्पर्धामा उत्कृष्ट हुनेहरुलाई सम्मान गरिएको बताए ।

सो अवसरमा टेक पाइलाका अध्यक्ष राजेन्द्र मल्ल, डिजि स्कुलका क्याम्पस चिफ प्रमोद पौडेल लगायतले सूचना प्रविधि शिक्षाको महत्वबारे धारणा राखेका थिए। यस्तै, कार्यक्रममा बिजनेस डेभलपमेन्ट प्रमुख अमृत थापा, टेक पाइला इनोभेसनका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारी,अभिभावक महासंघ लुम्बिनी प्रदेश अध्यक्ष हेम थापा, प्याब्सन नेपाल सचिवालय सदस्य लेखनाथ पौडेल, रुपन्देही जिल्ला प्याब्सन कार्यसमिति सदस्य यमन भण्डारी, स्टेसनरी तथा पुस्तक व्यवसायी समिति रुपन्देहीका प्रतिनिधि बोधराज शर्मा लगायत शैक्षिक क्षेत्रका अगुवा व्यक्तीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा डिजि ग्रुपकी बिजनेस हेड अनिता महर्जनले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सञ्चालन कल्पना कुशुमले गरेकी थिइन् ।