साढे चार लाख भारतीय रुपैयाँसहित महिला पक्राउ

मेचीकाली संवाददाता

९ जेष्ठ २०८०, मंगलवार
199 shares

बुटवल । कपिलवस्तु प्रहरीले साढे चार लाख भारतीय रुपैयाँसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको बगनासकाली गाउँपालिका ९ घर भई भारतको लखनउमा बस्दै आएकी ४५ वर्षीया राधा सारु रहेकी छिन् ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कपिलवस्तुको कृष्णनगर नगरपालिका २ लिङगेटमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी सारुको झोला भित्र भारतीय रुपैयाँ फेला पारेको हो ।

सारुको झोला भित्र पाँच सय दरका नौ सय थान (चार लाख पचास हजार) भारतीय नोट भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

बरामद नोटको स्रोत पनि नखुलेको उनले बताए । सारुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।