पाल्पा र बाँकेमा भएका छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु

मेचीकाली संवाददाता

१० जेष्ठ २०८०, बुधबार
171 shares
सांकेतिक तस्विर

बुटवल । पाल्पा र बाँकेमा भएका छुट्टाछुट्टै घटनामा परी ५ जनाको मृत्यु भएको छ । घाँस काट्दा रुखबाट लडेर घाइते भएका पाल्पाको पुर्वखोला गाउँपालिका ५ विरकोटका ७४ वर्षीय हरीराम पुनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार यहि जेठ २ गते घर नजिकै घाँस झार्ने क्रममा लडेर घाइते भएका पुनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको थियो । घरनजिकैको बारीमा रहेको दबदबेको रुखमा चढेका पुन रुखबाट लडेर गम्भीर घाइते भएका थिए ।

यसैगरी घाँस काट्दा रुखबाट लडेर घाइते भएका रैनादेवी छहरा गाउँपालिका २, सर्देवाका ४७ वर्षीय डिलबहादुर बुढाथोकीको पनि उपचारका क्रममा मंगलबार राति मृत्यु भएको छ । घरनजिकैको समीको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर घाइते भएका बुढाथोकीको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको थियो ।

यस्तै, घरको दोस्रो तलाबाट खसेर घाइते भएका रामपुर नगरपालिका ५ भम्बकका ६८ वर्षीय प्रेमलाल डोटेलको पनि उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार बेलुका छिमेकीको घरमा गई मादक पदार्थ सेवन गरी घर फर्किने क्रममा उनि ३ तले कच्ची घरको दोस्रो तलाबाट खसेर घाइते भएका थिए । डोटेलको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक थापाले बताए । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नदीमा डुबेर दुई युवतीको मृत्यु
यस्तै, बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरी र कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी रहेका छन् ।

डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मंगलबार साँझ डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । उनीहरु छ जनाको समूहमा वनभोज खान गएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।