स्वास्थ्यकर्मीहरुको समस्या समाधानमा गम्भीर भएर लाग्न महासंघले आग्रह

मेचीकाली संवाददाता

१० जेष्ठ २०८०, बुधबार
1273 shares

बुटवल । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, रुपन्देहीले तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा जनस्वास्थ्यको क्षेत्रमा समर्पित स्वास्थ्यकर्मी तथा त्यससँग सम्बन्धित काममा खटिएका प्राविधिकले लामो समयदेखि पारिश्रमिक नपाएको विषयले गभिर ध्यानाकर्षण भएको जनाएको छ ।

‘सेवामा समर्पित स्वास्थ्यकर्मीको यसप्रकारको गुनासोको यथाशीघ्र सम्बोधन होस र उचित पारिश्रमिक तत्कालै उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यो विज्ञप्ति जारी गरिएको छ ।’, विज्ञप्तिमा भनिएको छ, ‘तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी स्थायी कर्मचारीले पुस महिनादेखि नियामानुसार पाउनुपर्ने मासिक तलब हालसम्म पनि नपाईरहेको जुन दुखदायी अवस्था छ यसको यथाशीघ्र समाधान होस अन्यथा महासंघले सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं ।’

महासंघक अध्यक्ष रामेश्वर ढकालद्धारा जारी गरिएको विज्ञप्तिमा तिलोत्तमा नगरपालिका अन्र्तगत कार्यरत सम्र्पुण स्वास्थ्यकर्मीहरुको शान्तीपुर्ण आन्दोलन प्रति यस महासंघ समर्थन र ऐक्यवद्धता रहेको उल्लेख छ । महामारी होस वा अन्य जुनसुकै जोखिमपुर्ण समयमा होस आफ्नो जीउज्यान, परिवारलाई जोखिममा राखेर त्यस क्षेत्रको जनतालाई बचाउ गर्न तल्लिन स्वास्थ्यकर्मीहरुलाई हौसला र प्रोत्साहन गर्नुको साटो उल्टै तलवबाट बञ्चित गरिनु घोर अन्याय हो ।

‘नियमित पाउनुपर्ने तलबको दैनिक रुपमा पारिवारिक खर्च समेत धौ धौ भएको अवस्थामा यसरी पारिश्रमिक रोक्नु अमानवीय र गैरन्यायिक हुने भएकाले कर्मचारीहरुलाई समान ब्यवहार नगरि आन्दोलनमा जाने अवस्था सिर्जना नगराउनुहुन तथा दिर्धकालिन र स्थायी समाधानका लागि सम्बन्धित निकायलाई पुनः ध्यानाकर्षण गराउँदछौं ।’ विज्ञप्तिमा भनिएको छ । साथै ध्यानाकर्षण सहितको विज्ञप्तिलाई हलुका रुपमा नलिन र समस्या समाधानमा गम्भीर भएर लाग्न महासंघले आग्रह गरेको छ ।