वातावरण अधिकार तथा सरसफाई सम्बन्धी ध्यानाकर्षण पत्र

मेचीकाली संवाददाता

१२ जेष्ठ २०८०, शुक्रबार
118 shares

लक्ष्मी थारु

बाँके । इन्सेकद्धारा गठित खजुरा गाउँपालिका स्तरीय मानव अधिकार समूह र बाल अधिकार सचेतना समूहले संयुक्त रूपमा ७ नं. वडा कार्यालय सोनपुर र खजुरा गाउँपालिकामा बिहीबार वातावरण अधिकार तथा सरसफाई सम्बन्धी ध्यानाकर्षण पत्र बुझाएको छ ।

मानव अधिकार समूहले बजार तथा किरण नाला फोहोेर व्यवस्थापन, उद्योग कलकारखाना सञ्चालन गर्दा वातावरणीय पक्षलाई पालना गरे नगरेको अनुगमन गर्न साथै दिशा मुक्त क्षेत्र घोषणा भएपनि शौचालय नभएको र प्रत्येक्ष वातावरणमा असर पारेकोले खजुरा गाउँपालिकाको १, २, ३, ६, ७, ८ मा शौचालय भए नभएको तथ्याङ्क संकलन तथा अनुगमन गरेको थियो ।

उक्त तथ्याङ्क अनुसार ८७ घरधुरीमा शौचालय नभएको र २९ घरधुरीले शौचालय बनाउन नसक्ने विपन्न तथा दलित परिवार रहेको तथ्याङ्क समूहले निकालेको थियो । समस्या समाधानका तथा कार्यान्वयनका लागि समूहले वडा तथा गाउँपालिकामा बुझाउने तयारी गरेको थियो । जसमध्ये सबै भन्दा बढी ७ नं. वडा देखिएकोले ७ नं. वडा अध्यक्ष रामगोपाल यादवलाई ध्यानाकर्षण पत्र बुझाएको मानव अधिकार समूही संयोजक कौशिकी यादवले बताउनु भयो ।

त्यसै गरी श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले छात्रवृद्धि प्राप्त नभएको र विद्यालय व्यवस्थापन समिति निर्वाचन भएको ४ महिना वितिसक्दा पनि गठन हुन नसकेकोले विविध समस्या विद्यालयमा आउने गरेको हुँदा यथासिघ्र समाधानका लागि पहल गरी दिन वडा अध्यक्षसँग माग गरेको थिए ।

समूहले खजुरा गाउँपालिकामा पनि जेठ ११ गते कार्यपालिका सदस्य धनीराम वलीलाई बुझाएको थियो । वलीले आफुहरू कार्यान्वयन गर्ने निकायमा रहेकोले उत्तरदायि हुनुपर्छ भन्ने स्वीकार्दै उक्त ध्यानाकर्षण पत्र कार्यपालिका बैठकमा पेश गरेर छलफलबाट निकास निकालेर समाधानको पहल गर्ने प्रतिबद्धता गर्नुभयो ।

खजुरा गाउँपालिका ७ नं. वडा अध्यक्ष रामगोपाल यादवले वडाको समितिमा यस विषयमा छलफल चलाई आवश्यक योजना तय गरी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता गर्नुभयो ।

इन्सेकले मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउन पहल कार्यक्रम विगत एक वर्षदेखि सञ्चालन गरी रहेको छ ।