प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदै

मेचीकाली संवाददाता

१७ जेष्ठ २०८०, बुधबार
116 shares

काठमाडौँ । सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार चारदिने भारत यात्रामा निस्कँदै छन् । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो ।

दीर्घकालीन ऊर्जा व्यापार, भारत हुँदै बंगलादेशमा विद्युत् व्यापार, प्रसारण लाइन, हवाई रुट, कनेक्टिभिटी र कृषिमा सहयोगलगायत विषयमा सम्झौता र सहकार्यका लागि गृहकार्य भएको परराष्ट्रमन्त्री एनपी साउदको भनाइ छ । ‘विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्ने, ट्रान्समिसन लाइन विस्तार गरेर विद्युत् व्यापार बढाउने, बंगलादेशसँग पनि विद्युत् व्यापार गर्ने आधार यस भ्रमणमा तयार गर्नेछौं,’ उनले भने ।

नेपालमा उत्पादित विद्युत् बिक्रीको सुनिश्चितता नेपालको प्राथमिकता रहेको परराष्ट्रमन्त्रीको भनाइ छ । ‘विद्युत् क्षेत्रमा लगानी अभिवृद्धि र बजार सुनिश्चितताका लागि भारतसँग दीर्घकालीन सम्झौताको प्रयास हुनेछ । नेपालमा विद्युत्मा अर्बौंरखर्बौं लगानी गरिसकेपछि त्यो बेच्न सकिन्छ भन्ने लगानीकर्ता आश्वस्त हुन सकून्,’ उनले भने ।

परराष्ट्रमन्त्री साउदले नेपालले हवाई कनेक्टिभिटीलाई पनि भ्रमणमा महत्त्व दिइएको बताएका छन् । ‘सिमराको रुटबाट मात्रै प्लेन काठमाडौं आउँदा त्यो रुट धेरै व्यस्त छ । पायक पर्ने तीनरचार बिन्दु महेन्द्रनगर, नेपालगन्ज, भैरहवा र विराटनगरबाट छन् । सबैभन्दा सुविधाजनकचाहिँ महेन्द्रनगर हवाई रुट हुन्छ,’ उनले भने ।

कर्मचारी तहको वार्तामा उक्त एयर रुटबारे कुरा मिलिनसके पनि प्रधानमन्त्री तहमा उपलब्धि हुने उनको आशा छ । त्यस्तै, प्रधानमन्त्री तहमा सीमा समस्याका सवालमा कुराकानी हुने परराष्ट्रमन्त्री साउदले बताए ।

प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग बिहीबार दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता गर्दै छन् । दुई नेताबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरको वार्ताका लागि समय छुट्याइएको छ । लगानी, व्यापार, प्रविधि विकास, विकास आयोजनाको निर्माण, अपराध अनुसन्धानमा सहकार्यलगायत विषयमा डेलिगेसन लेभलमा सहमति हुने परराष्ट्र स्रोतको भनाइ छ । भारतको सहुलियत ऋणमा बनेको न्यु मोदी–लेखनाथ प्रसारण लाइन, कसुहा–कटैया डबल सर्किट लाइन तथा नेपालगन्जमा बनेको एकीकृत जाँच चौकीको संयुक्त उद्घाटनको तयारी छ ।

प्रधानमन्त्री दाहाल बुधबार अपराह्न २ बजेर ५० मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छन् । सरकारी ४७, निजी उद्योग व्यवसाय क्षेत्रका ४१, मिडिया प्रतिनिधि, ५ मन्त्री, डेढ दर्जन सचिव तथा सहसचिव टोलीमा सहभागी हुनेछन् ।

दिल्ली अवतरणपछि उनी साढे ३ बजे सरदार पटेल मार्गमा रहेको होटल आईटीसी मौर्यमा पुग्नेछन् । साँझ ६ बजे होटलमै आधा घण्टा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उनको भेटघाट हुनेछ । त्यसअगावै विदेश सचिव विनयमोहन क्वात्राले होटलमा उनलाई भेट्ने बताइएको छ । विदेशमन्त्री एस जयशंकर भने भारतबाहिर छन् ।

प्रधानमन्त्रीको सम्मानमा दिल्लीस्थित नेपाली दूतावासले रात्रिभोज आयोजना गरेको छ । त्यहाँ रहेका नेपाली समुदाय, नेपालसँग सरोकार राख्ने केही भारतीय राजनीतिज्ञ, कूटनीतिक क्षेत्र र मिडियाकर्मी सहभागी हुनेछन् । दाहाल साँझ ७ बजे त्यहाँ पुग्ने कार्यक्रम छ ।

अर्को दिन बिहीबार बिहान साढे १० बजे महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुष्पगुच्छा अर्पण गर्न दाहाल पुग्नेछन् । त्यसपछि उनी भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न ११ बजे हैदराबाद हाउस पुग्ने सूची छ । हैदराबाद हाउसको नीलगिरि कक्षमा मोदीसँग उनको भेटवार्ता हुनेछ । त्यसका लागि ११ बजेर ५ मिनेटदेखि ११ बजेर ३५ मिनेटको समय छुट्याइएको छ । त्यसपछि प्रतिनिधिमण्डलस्तरको बैठकमा दुवै प्रधानमन्त्री बस्नेछन् ।

१२ बजे ‘एक्सचेन्ज अफ एग्रिमेन्ट’ को कार्यक्रम र त्यसपछि १२ बजेर २० मिनेटमा केही परियोजनाको संयुक्त उद्घाटन र लगत्तै संयुक्त पत्रकार सम्मेलन हुनेछ । त्यसपछि दाहालको सम्मानमा मोदीका तर्फबाट हैदराबाद हाउसमा दिइएको दिवाभोजमा नेपाली डेलिगेसनको सहभागिता रहनेछ । २ बजे हैदराबाद हाउसबाट दाहाल होटलका लागि प्रस्थान गर्नेछन् ।

दाहालले उपराष्ट्रपति जगदीप धनखडसँग ४ बजे र राष्ट्रपति द्रौपदी मुर्मूसँग साढे ४ बजे शिष्टाचार भेट गर्ने कार्यसूची छ । बेलुका साढे ५ बजे नेपाल र भारतका उद्योगी व्यवसायीको संयुक्त कार्यक्रममा दाहाल केहीबेर उपस्थित हुनेछन् । त्यही दिन औपचारिक कार्यक्रमबाहेक उनले होटलमै विभिन्न व्यक्तिसँग भेटघाट गर्नेछन् ।

भ्रमणको तेस्रो दिन शुक्रबार प्रधानमन्त्री दाहाल मध्यप्रदेशको उज्जैन र इन्दोर जानेछन् । बिहान साढे ८ बजे उनी विमानबाट इन्दोर प्रस्थान गर्नेछन् । अपराह्न १ बजे प्रधानमन्त्रीको टोली इन्दोरको होटल मेरियट पुग्नेछ । अपराह्न ४ बजे मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलसँग उनको भेट हुनेछ ।

प्रधानमन्त्री दाहालले इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट हेर्ने कार्यक्रम पनि छ । भारतमा इन्दोर सबैभन्दा सफा र फोहोर व्यवस्थापनमा उत्कृष्ट सहरका रूपमा चिनिन्छ । मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले दिएको रात्रिभोजमा दाहाल सरिक हुनेछन् । त्यहाँ भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक संघ ९आरएसएस० का नेताहरूसँग भेटघाटको सम्भावना छ ।

चौथो दिन शनिबार प्रधानमन्त्री दाहालले इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्नेछन् । अपराह्न १ बजेको विमानबाट उनी दिल्ली प्रस्थान गर्नेछन् । दिल्ली विमानस्थलमा एक घण्टाभन्दा बढी समय व्यतीत गरेर उनी अपराह्न ४ बजेर २० मिनेटमा नेपाल एयरलाइन्सको विमानबाट काठमाडौंका लागि प्रस्थान गर्ने कार्यसूची रहेको छ ।