बिहेको प्रस्ताव अस्वीकार गरेपछि युवकले गरे प्रेमिका र काकाको हत्या

मेचीकाली संवाददाता

१८ जेष्ठ २०८०, बिहीबार
275 shares
सांकेतिक तस्वीर

बुटवल । कपिलवस्तुको बाणगंगामा चक्कु प्रहार गरी दुईजनाको हत्या भएको छ । प्रेमिकासँग खटपट भएपछि रुपन्देहीको कञ्चन गाउँपालिका २ का २२ वर्षीय मोहन थारुले वाणगंगा नगरपालिका ६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अन्जनी थारुको हत्या गरेका हुन् ।

बिहीबार बिहान मटेरियास्थित अन्जनीको घरमा पुगेर मोहनले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी जानकारी दिए । चक्कु प्रहारपछि दुबै जना गम्भिर घाईते भएका थिए

घटनापछि तत्काल उपचारका लागि दुबैजनालाई जीतपुरस्थित सामुदायिक अस्पतालमा लगिएको थियो । त्यहाँबाट अञ्जनीलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा पठाइएको थियो । उनिहरु दुबै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बमबहादुरको सामुदायिक अस्पतालमा र अन्जनीको भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो ।

मोहन र अन्जनी विगत केही समयदेखि प्रेम सम्बन्धमा रहेको र विहेको प्रस्ताव अस्विकार गरेपछि आक्रोसित भएका उनले चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । चक्कु प्रहार गरेपछि घटनास्थलबाट भागेका मोहनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी नायब उपरिक्षक घलेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।