विश्व दूध दिवसको अवसरमा प्रादेशिक अस्पतालका बिरामीलाई दूग्धपान

मेचीकाली संवाददाता

१८ जेष्ठ २०८०, बिहीबार
177 shares

बुटवल । विश्व दूध दिवसको अवसर पारेर बिहीबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, बिरामीहरूलाई दुग्धपान गराइएको छ । नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेश, लुम्बिनी दुग्ध वितरण आयोजना (डिडिसी) र रूपन्देही डेरी व्यवसायी समितिले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी बिरामी, बिरामीका आफन्त र सम्पूर्णलाई दुध तथा दुग्धजन्य परिकारहरू खुवाइएका हुन । ‘दूध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । हरेक वर्ष ‘जुन फस्ट’ लाई विश्व दूध दिवस रूपमा मनाउने गरिन्छ ।

सो अवसरमा बोल्दै उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले गुणस्तरीय दूध उपभोक्तासमक्ष पु¥याउन व्यवसायीहरूलाई आग्रह गरे । पाठकले गोठदेखि ओठसम्म दुधमा शुद्धता हुन आवश्यक रहेको बताउदै त्यसतर्फ सबैको ध्यान जान आवश्यक रहेकोमा जोड दिए । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डन (मेसु) डा. सुदर्शन थापाले स्वच्छ दुध नियमित सेवनले धेरै स्वास्थ्य सम्बन्धी समस्याबाट जोगाउन सक्ने बताए । नेपाल डेरी एशोसिएसनका पूर्व अध्यक्ष मेघराज भण्डारीले दूधको खपत बढाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल डेरी एशोसिएसनका सल्लाहकार हिरा केसी, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, नेपाल स्वमंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्री, नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष कृष्ण भट्टराई, डेरी एशोसिएसनका केन्द्रीय सहसचिव शिव भुसाल, केन्द्रीय सदस्य भुवन न्यौपाने, खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष महेन्द्र पोखरेल, दग्ध वितरण संस्थान डि.डि.सि लुम्बिनीका निमित्त प्रमुख निरञ्जन भट्टराई लगायतले बोलेका थिए । नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेको अध्यक्षता, रुपन्देही डेरी व्यवसायी संघका अध्यक्ष रामकृष्ण पौडेलको स्वागत तथा नेपाल डेरी एशोसिएसन केन्द्रीय कोषाध्यक्ष दयाराम भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । लुम्बिनी प्रदेश दुधमा आत्मनिर्भर रहेको छ ।